
काठमाडौं, ९ भदौ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
यस्तै, आज राति भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू –भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।









प्रतिक्रिया