
काठमाडौं, ७ भदौ । प्रथम महिला राधिका शाक्यले चाहेको खण्डमा नेपाली समाजमा काम गर्ने क्षेत्र धेरै फराकिलो भएको बताएकी छन् ।
अनेरास्ववियु केन्द्रीय महिला विभागद्वारा शनिबार आयोजित तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमकी प्रमुख अतिथि शाक्यले समाजलाई कता लैजाने भन्ने कुरा वर्तमान पुस्ताको हातमा रहेको बताइन् । महिला, बालबालिकामाथि हुने हिंसा वा अन्य कुनै पनि खालका अन्याय र अत्याचार समाजमा हुन दिन नहुने उनको धारणा छ ।
‘आफूलाई नपर्दासम्म यो उसको समस्या हो भन्ने कुरा हामीले त्याग्नु पर्दछ, आँखा अगाडि देखिएका समस्यामा आवाज उठाउनु पर्छ’, उनले भनिन् । उनले युवालाई जुन क्षेत्रमा गए पनि इमानदार हनु आग्रह गरिन् । अनेरास्ववियुमा लागेर काम गरेको अनुभवले त्यसमा सहयोग गर्ने उनले विश्वास व्यक्त गरिन् । ‘युवा पुस्ता हरेक क्षेत्रमा सक्षम, इमानदार र मेहनती बन्नु पर्दछ’, उनले भनिन् ।
४० वर्ष अगाडि आफूले पनि केही समय अनेरास्ववियुमा काम गरेको स्मरण गराउँदै त्यति बेलाको राजनीति अहिलेको जस्तो नभएको उनले बताइन् । ‘तर पनि म आजसम्म जुन स्ट्यण्डमा उभिएको छु मेरो राजनीतिको गुरु यही अनेरास्ववियु नै हो, त्यही अनेरास्ववियुमा बस्दा मैले पाएका अनुशासन, मेहनत र इमानदारितालाई अज जेष्ठ नागरिक बन्दा पनि पालना गरिरहेको छु भन्ने लाग्छ’, उनले भनिन् ।
युवालाई यता जाँदा राम्रो हुन्छ कि, उता जाँदा राम्रो हुन्छ कि भनेर यता र उता नलाग्न उनले आग्रह गरिन् । यसले अघि बढ्ने बाटो बन्द हुने शाक्यको धारणा छ । जीवनलाई सुखमय बनाउन धैर्यता र लगनशीलता आवश्यक पर्ने उनले बताइन् । ‘अहिलेका युवाले धैर्यता राख्न गाह्रो छ, धैर्यताबिना हामी अगाडि बढ्न सक्दैनौँ, यो सबैभन्दा बलियो हतियार हो’, उनले भनिन् ।
आफ्नो कामलाई सफल बनाउन धैर्यता आवश्यक रहेको उनले बताइन् । धैर्यताका साथ आफ्नो लक्षमा अगाडि बढ्न उनले सबै विद्यार्थीलाई शुभकामना दिइन् ।








प्रतिक्रिया