
धनगढी, ७ भदौ । नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको दुई देशीय सम्झौता गम्भीर र आपत्तिको कुरा भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल कैलालीले शनिबार धनगढीमा आयोजना गरेको ‘जनसंगठनसँग प्रेस चौतारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व उद्योग मन्त्री समेत रहेका भट्टले दुई शक्ति राष्ट्रले शान्तिप्रिय मुलुकको भूमिबारे गरेको दुई पक्षीय सम्झौता नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथिको नाङ्गो हस्तक्षेप भएको उल्लेख गरेका हुन् । उनले लिपुलेक नेपालको भूमि भएको कुरा विभिन्न तथ्य प्रमाणले प्रष्ट हुने बताउँदै शक्ति राष्ट्रले त्यसबारे सम्झौता गरेर नेपालको राष्ट्रियतामाथि ठूलो मिसाइल प्रहार गरेको बताए ।
‘लिपुलेक नेपालकै भूमि हो भन्ने कुरा विभिन्न तथ्य, प्रमाणले पुष्टि गर्छ । अझ हामी सुदूरपश्चिमबासीको भूमि भएकाले यो कुरामा हामी सबै प्रष्ट हुनुपर्छ,’ उनले भने, ‘तर लिपुलेकबारे अहिले भारत र चीनले दुई पक्षीय सम्झौता गरेर शान्तिप्रिय राष्ट्रको राष्ट्रियतामाथि हस्तक्षेप र गम्भीर प्रहार गरेका छन् । यसको हामी सबैले खुलेर विरोध गर्नुपर्छ ।’ उनले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा समेत गर्ने बताएका छन् ।
दुई देशबीच ३ भदौमा नयाँ दिल्लीमा चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको वार्तामा नेपाली भूमि लिपुलेकसम्बन्धी सम्झौता भएको थियो ।
प्रधानमन्त्री ओली शाङ्घाइ सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन १४ भदौमा चीन जाँदैछन् । चीनबाट फर्किएपछि प्रधानमन्त्री भारत भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणका क्रममा दुवै देशसँग प्रधानमन्त्री ओलीले यसबारे कुरा गर्ने भट्टको भनाई थियो ।
भट्टले सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने निर्णय भएको स्मरण गर्दै त्यो बेला विरोध जनाउने आफू एक्लो व्यक्ति भएको समेत बताए । उनले अहिलेको सम्झौताप्रति पनि खुलेर विरोध गर्न आवश्यक रहेको उल्लेख गरे ।
‘नेपालको राष्ट्रियतामाथि भारत र चिनियाँ पक्षले गरेको अत्याचार हो । यो भूमिसँग सुदूरपश्चिम भावना र मनोवैज्ञानिक रूपमा पनि जोडिएको छ,’ उनले भने, ‘हामीले आ–आफ्नो ठाउँबाट यो विषयमा गम्भीर रूपमा उठाउनुपर्छ ।’
प्रेस चौतारी कैलालीका अध्यक्ष जनक विष्टको अध्यक्षतामा आयोजित जनसंगठनसँग प्रेस चौतारी कार्यक्रममा एमाले सचिव भट्ट प्रमुख अतिथि थिए । कार्यक्रममा विभिन्न जनसंगठनका पदाधिकारी तथा सदस्य र पार्टीका प्रदेश तथा जिल्लाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया