
दाङ, ७ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपाल, दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था फैलिने खतरा बढ्ने टिप्पणी गरे ।
‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो ।’ महासचिव पोखरेलले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्किदा गणतन्त्रप्रति नै अनाश्था र अविश्वास पैदा गर्छ । त्यो गल्ती पार्टीहरू गर्नुहुँदैन ।’
माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोखरेलले बताए । माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र कांग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताए ।
‘माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गर्यो ।’ पोखरेलले भने, ‘माओवादीलाई एमाले र कांग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ ।’ महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्ने बताए ।









प्रतिक्रिया