२० असार २०८३, शनिबार

अब एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका छन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो ।

निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ ।

सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सको वर्गीकरण गरेको छ । निर्देशिकाले एम्बुलेन्स सेवावापत लाग्ने शुल्कमा एकरूपता र नियमनको व्यवस्था गरेको छ । गरिब, असहाय तथा विपदमा परेका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने प्रावधान निर्देशिकामा राखिएको छ । आकस्मिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यो निर्देशिका जारी गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

उनले भने, “छरिएर प्रदान गरिने एम्बुलेन्स सेवालाई एकद्वार प्रणालीमा ल्याउने, आकस्मिक उपचार सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने तथा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले यो निर्देशिका ल्याइएको हो ।”

निर्देशिका स्वीकृत भएसँगै देशभरका एम्बुलेन्स सेवाहरू एकीकृत सञ्जालमा आउने छन् ।