२४ असार २०८३, बुधबार

एमालेको अन्तरकुन्तरमा उठेका विषयमा तरंगित नभइ संस्थागत निर्णयमा एकतावद्ध हुन आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विधान महाधिवेशनको सम्मुखमा पार्टीको अन्तरकुन्तरमा उठेका केही विषयहरुमा तरंगित नहुन आग्रह गरेका छन् । पार्टीको जनवर्गीय संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले पार्टीले गरेको संस्थागत निर्णयका पक्षमा उभिन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ज्ञवालीले कम्युनिष्ट पार्टीमा केन्द्रले गरेको निर्णयको पालना मातहतका कमिटीले गर्नुपर्दछ भने । त्यसैले पार्टी केन्द्रले गरेका निर्णयलाई अक्षरश पालना गर्नु सबै कार्यकर्ताको दायित्व हो । संस्थागत निर्णयको पालनाबाट नै पार्टी एकतावद्ध हुने ज्ञवालीको भनाइ छ ।

उनले भूमि अधिकार तथा श्रमिक संगठन कम्युनिष्ट पार्टीको वर्गलाई प्रतिनिधित्व गर्ने संगठन भएको बताए । उनले यस संगठनले वर्गीय मुद्धालाई जोडदार रुपमा उठाउनु पर्ने कुरामा जोड दिए । यस वर्गका मुद्धाप्रति पार्टी सधैं गम्भिर रहेको उनको भनाइ थियो । जब जब एमालेको सरकार बन्छ तबतब भूमी आयोग बन्छ । जब जब भूमि आयोग बन्छ तब तब भूमिहिनहरुले लालपुर्जा सहितको जमिन पाउँछन् ।

कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीको मुलधारमा अडिएर नेतृत्वको पक्षमा उभिनु कार्यकर्ताहरुको दायित्व भएको बताए । वर्तमान सन्दर्भमा केपी ओलीबिनाको एमाले परिकल्पना बाहिरको विषय भएको ढकालको भनाइ थियो ।

पार्टी पोलिटब्युरो सदस्य एवं संगठनकी इन्चार्ज शान्ता चौधरीले भूमिहीन सुकुम्बासीको समस्या समाधान एमालेले मात्र गर्न सक्ने बताइन् । भूमिहीनलाई कुनै विकल्प नदिएर बसिरहेको ठाउँबाट उठाउन नपाइने चौधरीको भनाइ थियो ।कुनैपनि ठाउँमा यस प्रकारका ज्यादती भएमा संगठन अग्रपंक्तिमा उभिने चौधरीले बताइन् ।

संगठनका अध्यक्ष इन्द्रबहादुर तामाङको अध्यक्षता र महासचिव उमेश आचार्यको सञ्चालनमा सुरु भएको बैठकमा संगठनका उपाध्यक्ष लिला विकले स्वागत मन्तव्य राखेका थिए ।

बैठकमा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गुन्जबहादुर खड्काले भूमि समस्या र समाधानका सैद्धान्तिक तथा कानूनी प्रावधान तथा भएका प्रयासहरुका बारेमा सहभागिहरुका बीचमा अन्तरक्रियात्मक सहजीकरण गरेका थिए ।

हिजो सोमबारबाट सुरु भएको बैठक आज बिहान ८ बजेदेखि पुनः सञ्चालन हुनेछ भने आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।

आजको बैठकमा एमाले केन्द्रीय सदस्य श्यामकुमार बस्नेत, संगठनका लेखा आयोगका संयोजक रमेश तामाङ, निर्वाचन आयोगका संयोजक लिलाबहादुर मोक्तान, अनुशासन आयोगका संयोजक भक्तबहादुर विश्वकर्मा र सल्लाहाकार कमिटीका संयोजक हरिवंश चौलागाईको सहभागिता रहेने संगठनका उपमहासचिव एलबी सिंहले बताए ।