
काठमाडौं, २ भदौ । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ । काठमाडौंमा आयोजित एक भव्य समारोहका साथ यो ऐतिहासिक कार्यक्रम सुरु भएको हो । यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।
कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेशाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवात ब्रिटिश एजुकेशन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीप प्रज्वलनबाट गरेका थिए ।

कार्यक्रममा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिश कलेजको आधिकारिक एआई रोबोट ‘रोज’ले पहिलोपटक स्वागत मन्तव्य राखेको थियो ।

कार्यक्रममा डाटा साइन्सको महत्वबारे आफ्नो विचार राख्ने विशिष्ट वक्ताहरूमा डोल्मा फण्ड म्यानेजमेन्टका सीईओ टिम गोचर ओबीई डीएल, गूगलका पूर्व प्रोडक्ट म्यानेजमेन्ट प्रमुख जोन बी पार्क, सांसद मनीष झा, र नेपालका लागि बेलायती राजदूत रोब फेन प्रमुख अतिथि थिए ।
राजदूत फेनले बेलायत–नेपाल शैक्षिक सहकार्यलाई रणनीतिक महत्व दिँदै नेपाल र विश्व पूँजी बजारबीच पुल बनाउन सके बेलायती लगानीकर्ताहरू पहिलो हुने र शिक्षा नै त्यस पुलको आधारभूत पूर्वाधार भएको विश्वास व्यक्त गरे ।
ब्रिटिश एजुकेशन ग्रुपका समूह प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले यो कार्यक्रम शैक्षिक पोर्टफोलियोमा नयाँ थप मात्र नभई दुई राष्ट्र र संस्थाबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए । फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले ब्रिटिश कलेजसँगको सहकार्यलाई स्मरण गर्दै भविष्यमा अझ घनिष्ठ सहकार्य गर्ने उत्साह व्यक्त गरे ।

यसै अवसरमा फिनटेक अलायन्स नेपालद्वारा ‘नेपालमा डाटा एनालिटिक्सको प्रभावकारी उपयोग’ विषयमा प्यानल छलफल पनि सम्पन्न भयो । छलफलमा जेनेसिस सोलुसनका उपाध्यक्ष कैलाश बडु, वीसयाक आईएनसीका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक सुरेश मानन्धर, सेडेर गेट सर्भिसकी उपाध्यक्ष (डाटा) श्वेता कर्ण, ईएक्सटेन्स डाटाका प्रमुख कार्यकारी अधिकृत सुरेश गौतम, र नामीकी अनुसन्धान सहायक अन्जु क्षेत्री (मोडरेटर) सहभागी थिए ।
यो बीएससी (अन्स) डाटासाइन्स कार्यक्रमले नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशाप्रदान गर्न एउटा महत्त्वपूर्ण शैक्षिक पहल सुरु गरेको छ । यस कार्यक्रमको लक्ष्य देश भित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन गर्नु हो ।
आगामी सेप्टेम्बर २०२५ सम्म पहिलो ५० जना विद्यार्थीका लागि प्रारम्भिक अफर पनि उपलब्ध रहेको छ । थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले ब्रिटिश कलेज वा ब्रिटिश इन्टरनेशनल कलेजमा सम्पर्क गर्न सक्ने कलेजले जनाएको छ ।









प्रतिक्रिया