
काठमाडौं, २ भदौ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेकपा एमाले उदयपुर–काठमाडौं सम्पर्क मञ्चले २०८२ सालको तीज विशेष साथै जितिया पर्व कार्यक्रम गर्ने भएको छ । मञ्चले तीज तथा जितिया कार्यक्रम भदौ ६ गते शुक्रबार दिउँसो २ बजे काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समिति नेपालको हलमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित दर खाने कार्यक्रम गर्न लागेको हो ।
गत वर्ष झैँ यस वर्ष पनि कला, संस्कृति, रितिरीवाजको संरक्षण गर्दै नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा उदयपुरबाट काठमाडौं उपत्यकामा आई विभिन्न पेसा, व्यवसाय गरी बसोबास गर्ने दिदीबहिनी तथा दाजुभाइहरूबीच आत्मियता साटासाट गर्दै एकआपसमा मनोरञ्जन गर्दै तीज तथा जितिया पर्व कार्यक्रम गर्न लागेको सम्पर्क मञ्चका अध्यक्ष रिता थापाले जानकारी दिइन् । कार्यक्रम शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुने अध्यक्ष थापाले बताइन् ।
तीज कार्यक्रममा उदयपुर जिल्लाबाट आएर काठमाडौं उपत्यकामा बासोबास गरी विभिन्न पेसा तथा व्यवसायमा आबद्ध दिदीबहिनी, आमाबुवा, दाजुभाइ, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, कलाकार, शिक्षक, वकिल, पत्रकार, विद्यार्थी, कर्मचारी, मजदुर तथा मञ्चमा आबद्ध पदाधिकारी, सचिवालय सदस्य, सदस्यहरू, मञ्च सल्लाहकारहरू एवं एमालेका केन्द्रीय नेता, प्रदेश, जिल्लाका नेता साथै लिम्चुङबुङ गाउँपालिका, उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, कटारी, बेलका र चौदण्डीगढी नगरपालिकाका सम्पूर्ण एमालेका शुभेच्छुक, शुभचिन्तक, समर्थक लगायत उपस्थिति रहने मञ्चका अध्यक्ष थापाले बताइन् ।

अध्यक्ष थापाले भनिन्, ‘नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज कार्यक्रम काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समिति नेपालको हलमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा गर्न गइरहेका छौँ । सो तीज कार्यक्रममा सम्पूर्ण दिदीबहिनी, आमाबुवा, दाजुभाइ, मञ्चमा आबद्ध पदाधिकारी, सचिवालय सदस्य, सदस्यहरू, मञ्च सल्लाहकारहरू एवं एमाले शुभेच्छुक, शुभचिन्तक, समर्थक लगायत महानुभावलाई उपस्थिति भई मनोरञ्जनका साथमा दर खान उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु । यसको साथसाथै जितिया पर्व पनि सोही दिन मनाउन गइरहेको सम्पूर्ण दिदीबहिनी तथा एमाले शुभेच्छुक, शुभचिन्तक महानुभावहरूलाई जानकारी गराउँदछु ।’
राजनीतिक गतिविधिका लागि सङ्गठित भएको मञ्च भए पनि उदयपुर सम्पर्क मञ्चले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएको मञ्चका अध्यक्ष थापाले बताइन् । अध्यक्ष थापाले भनिन्, ‘तीज विशेष कार्यक्रम सम्पर्क मञ्चले हरेक वर्ष गर्ने नियमित कार्यक्रम हो।’
तीज तथा जितिया कार्यक्रममा दुईदेखि पाँच सयभन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष थापाले बताइन् । हिजोआज तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भएकोले यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउने उनले बताइन् । अध्यक्ष थापाले भनिन्, ‘नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध पर्व हो । जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ, जुन विभिन्न रूपले यो पर्व मार्फत् प्रकट हुन्छ । हिजोआज तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भएकोले यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।’









प्रतिक्रिया