११ असार २०८३, बिहिबार

सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ : प्रधानमन्त्री

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीका परिवारको साथमा सरकार रहेको बताएका छन् ।

सोमाबार बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका विपिनको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताएका हुन् । उनले विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको जानकारी गराए । प्रधानमन्त्री ओलीले आफूले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति र इजिप्टका राष्ट्रपतिसँग पनि यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको बताए ।

‘इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ । सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ ।’

विपिनको रिहाइका लागि उनका आमा र बहिनी अहिले इजरायलमा छन् । त्यहाँ उनीहरुले राष्ट्रपति लगायतका विभिन्न संस्थालाई भेटेर विपिनको रिहाइको माग गरेका छन् ।