
काठमाडौं, १ भदौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ४५ करोड २७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १.६६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ४४ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले समीक्षा अवधिमा कूल ५ अर्ब ७० करोड २६ लाख ३८ हजार ५८० रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको ४ अर्ब ७९ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो । कम्पनीले बीमितलाई ३ अर्ब ७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यो रकम २ अर्ब २४ करोड रुपैयाँ मात्र थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेका अनुसार प्राकृतिक विपद्का कारण उच्च मात्रामा दाबी भुक्तानी गर्नु परेकाले मुनाफामा अपेक्षित वृद्धि गर्न नसकिएको हो । उनका अनुसार दैवी विपत्तिको बेला बीमितलाई राहत दिने कामलाई कम्पनीले प्राथमिकता दिएको छ ।
‘दुःखद्को समयमा नाफाभन्दा पनि विपद्मा राहत पुर्याउनु मुख्य उद्देश्य हो,’ उनले भने । कम्पनीले विपद्का समयमा छिटोभन्दा छिटो दाबी भुक्तानी सम्पन्न गर्ने कार्यमा सफलता पाएको समेत सीईओ पाण्डेले जानकारी दिए ।
शिखर इन्स्योरेन्सले यस वर्ष लघु बीमाको तुलनामा अन्य बीमा क्षेत्रमा व्यवसाय विस्तार गरेको छ ।
कूल २ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १५.४९ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १९८.९७ रुपैयाँ रहेको छ ।








प्रतिक्रिया