२७ असार २०८३, शनिबार

भ्रष्टाचार त समस्या हुँदै हो त्योभन्दा ठूलो समस्या ढिलासुस्ती हो : शंकर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताएका छन् । भ्रष्टाचार आफैंमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्दत गरेको पोखरेलले बताए ।

पार्टीको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ढिलासुस्तीले आर्थिक अनियमिततालाई प्रश्रय दिएको बताए ।

‘भ्रष्टाचार त समस्या हुँदै हो त्योभन्दा ठूलो समस्या ढिलासुस्ती हो’ महासचिव पोखरेलले भने, ‘ढिलासुस्तीले राज्यलाई ठूलो नोक्सानी पुर्‍याउँछ । त्यसको ज्वलन्त नमुना मेलम्ची खानेपानी आयोजना हो । त्यसै ढिलासुस्तीले भ्रष्टाचारले भन्दा ठूलो क्षति गरेको छ ।’ मेलम्ची निर्माणमा ढिलाइ गरेको एकजना खलपात्र पूर्वसचिव भीम उपाध्याय नै अहिले सुशासनको प्रवक्ता हुनु हास्यास्पद भएको पोखरेलको भनाइ छ ।

ढिलासुस्तीको भूमिका खेल्नेलाई इमान्दार मान्ने चलन समाजमा व्याप्त रहेको महासचिव पोखरेलले बताए । यस्तो कुराले समाजमा व्यापक निराशा फैलाएको पोखरेलले बताए । ‘जसले काम गर्दैन उसलाई इमान्दार मान्ने भ्रमबाट समाज मुक्त हुनुपर्दछ’ पोखरेलले भने, ‘काम नगर्नु भनेको इमान्दार हुनु हो भन्ने भाष्य तोड्नु पर्दछ ।’

ढिलासुस्तीले गर्दा नै नारायणगढ बुटवल सडक खण्डको बेहाल भएको उनले बताए । समयमा काम नगर्ने प्रवृतिका कारण यस सडकमा दुईपटक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने अवस्था आएको पोखरेलले जानकारी दिए । उनले प्रशासनिक ढिलासुस्तीका कारण ठेकेदार नै काम छोडेर हिड्ने अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चस्तरको कुटनीतिक सम्बन्धका कारण यस सडकको निर्माणले निरन्तरता पाएको पोखरेलले बताए ।

पोखरेलले प्रशासनिक ढिलासुस्तीलाई न्यून गर्ने हो भने व्यवस्था र प्रणालीप्रति आम जनता स्वत सकारात्मक हुने बताए । प्रशासनिक संयन्त्रले गरेको ढिलासुस्तीको दोष पनि राजनीतिक संयन्त्रले खेप्नुपर्दा प्रणालीप्रति मानिसहरुको अविश्वास बढेको उनले बताए । ‘सबै कागजपत्र पुगेका कामको निर्णय सातदिन भित्र भइसक्नु पर्दछ ’ उनले भने, ‘जसले यस्ता कुरामा निर्णय दिन ढिलाइ गर्दछ उसलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।’

कार्यक्रममा एमाले उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, संसदको लेखा समितिका सभापति ऋषिकेश पोखरेल लगायतले बोलेका थिए ।