
दैलेख, ३१ साउन । नेकपा (एमाले) दैलेखका जिल्ला कमिटी सदस्यहरूले पार्टीको नीति कार्यकर्तामुखी आवश्यक रहेको बताएका छन् ।
ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनका लागि सुझाव संकलन गर्न सम्पन्न जिल्ला कमिटीको बैठकमा सहभागी सदस्यहरूले पार्टीमा कार्यकर्तामा आधारित नीति आवश्यक रहेको विचार व्यक्त गरेका हुन् ।
बैठकमा २८ जना जिल्ला कमिटीका सदस्यहरूले विभिन्न सुझाव राखेको एमाले दैलेखका प्रचार विभाग प्रमुख दीपेन्द्र ओलीले बताए । संकलित सुझावलाई निर्णय गरेर पार्टी केन्द्रीय कमिटीमा पठाइएको छ ।
पार्टी केन्द्रीय कमिटीले छलफलका लागि पठाएको मस्यौदामा पालिका स्तरमा छलफल गरी पार्टी जिल्लालाई सुझाव प्रदान गरेका थिए ।
विधान संशोधनका लागि प्रदान गरिएका सुझावहरू पार्टी जीवन र संगठन सञ्चालनका लागि महत्त्वपूर्ण रहेका प्रचार विभाग प्रमुख ओलीको भनाई छ । ‘एमाले जनतामा आधारित पार्टी हो । जिल्लाबाट केन्द्रमा जाने सुझावले पार्टी जीवन र संगठन सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । सामूहिक निर्णयको प्रयत्न स्वरूप राम्रो काम भएको छ ।’ ओलीले भने ।
बैठकमा पार्टी केन्द्र र प्रदेशले जारी गरेका अन्तर पार्टी निर्देशनमाथि व्यापक छलफल गरिएको थियो ।
बैठकले बाँकी जनवर्गीय संगठनका अधिवेशन असोजभित्र गरिसक्ने निर्णय गरेको छ । एमाले दैलेखमा संगठित सदस्यको संख्या वृद्धि भएको जनाइएको छ ।
२०८२ सालसम्मको नवीकरण विवरण अनुसार जिल्लामा दश हजार २ सय ५१ संगठित सदस्य छन् ।








प्रतिक्रिया