
हल्दीबारी, ३१ साउन । नेकपा (एमाले) हल्दीबारी गाउँपालिका कमिटी झापाले पार्टी सदस्यहरुको घरदैलो अभियान सञ्चालन गरेर सुझाव संकलन गर्ने निर्णय गरेको छ । पार्टीको विधान महाधिवेशन केन्द्रित लिखित सुझाव संकलन गर्न अभियान सञ्चालन गर्न लागिएको हो ।
शनिबार पालिका कमिटीको कार्यालयमा सम्पन्न बैठकले ८ बुँदे प्रश्नावली तयार गरी अभियानको सुरुवात गरेको छ ।
बैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओलीले उमेर हैन क्रियाशिलताका आधारमा नेतृत्व निर्माण गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक नैतिकताका हिसाबले राजनीतिमा क्रियाशील हुन नहुने र सम्मानित भूमिकामा रहनुपर्ने पार्टीले निर्णय गरेको उनले बताए । पार्टी नेतृत्व व्यक्तिको ईच्छामा हैन आन्दोलनको आवश्यकताका आधारमा कार्यकर्ताले चयन गर्ने विषय भएको उनको भनाई थियो ।
बैठकले आगामी भदौ २७ र २८ गते प्रशिक्षण सञ्चालन गर्ने, अनेमसंघको व्यवस्थापनमा ५ वटै वडामा तीज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । साथै, बैठकले पालिका सभादलका नेता विष्णुप्रसाद ओली, पूर्वजनप्रतिनिधि केदार उप्रेती र भीमनारायण ढकाललाई कमिटीको सचिवालय सदस्यमा मनोनित गरेको छ ।
पालिकाका कमिटी अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य तथा पालिका इञ्चार्ज सोमनाथ पोर्तेल, सन्तलाल मेचे, मोहनचन्द्र रेग्मी लगायत नेताहरुको सहभागीता रहेको थियो ।









प्रतिक्रिया