
काठमाडौं, २४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनै पूर्णिमा हामी सबैको सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रुपमा मनाइने गरेको उल्लेख गरेकी छन् ।
आज जनै पूर्णिमाको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक जनै पूर्णिमा भएको बताइन् ।
‘हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने पर्वका पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक जनै पूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउनुका साथै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँदछ । यसै दिन नौ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्दछ ।’
यस्ता पर्वहरूले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्याउने पूर्वराष्ट्रपति भण्डारीको विश्वास छ ।







प्रतिक्रिया