१६ असार २०८३, मंगलबार

एमाले कपिलवस्तुको तेस्रो पूर्ण बैठक सम्पन्न, अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्ने निर्णय

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २० साउन । नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले १४ वटा एजेन्डामा छलफल गरी महत्वपूर्ण निर्णयहरू गरेको छ । सोमबार शिवराज नगरपालिका–५, चन्द्रौटामा सम्पन्न बैठकले पार्टी केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन र लुम्बिनी प्रदेश कमिटीको निर्णयहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा बसेको बैठकले पार्टीको आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनका लागि तल्लो कमिटीहरूमार्फत सुझाव संकलन गर्ने र सुझावहरू भदौ १० गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको पार्टी जिल्ला सचिव सीबी गहतराजले जानकारी दिए । सचिव गहतराजका अनुसार जिल्ला सचिवालय विस्तार गर्दै १४ जना सदस्य मनोनयन गरिएको छ, जसमा पूर्व जिल्ला सचिवालय सदस्य तथा पूर्वनगर कमिटी इन्चार्जहरूलाई प्राथमिकता दिइएको छ ।

यस्तै, बैठकले भदौ १३ र १४ गते पार्टी स्कुल विभागको समन्वयमा अगुवा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले पार्टी सदस्यताको नवीकरण तथा प्रमाणीकरण प्रक्रिया सम्पन्न गर्ने, बाँकी रहेका वडा कमिटी तथा जनवर्गीय संगठनहरूको अधिवेशन आगामी असोज १० गतेभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको सचिव गहतराजले बताए ।

यसैगरी, पार्टी कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने, अधिवेशनबाट निर्वाचित केही नेताहरूले पार्टी परित्याग गरेकाले औपचारिकरूपमा बिदा दिने, साथै १० वटै पालिकाका अध्यक्षहरूमार्फत लिखित रिपोर्ट संकलन गरिएको सचिव गहतराजले जानकारी दिए । बैठकमा लेखा समिति संयोजक गंगाबहादुर जिसीले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकमा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्य सुशीलकुमार श्रीवास्तव, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, निर्वाचन आयोग सदस्य झविलाल पोखरेल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सल्लाहकार तथा प्रदेश सचिवालय सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी नेताहरूले ‘मिसन ८४’ अभियानमा सबै नेताकार्यकर्ता एकताबद्ध भई सक्रिय रूपमा खटिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले बदलिँदो परिस्थितिअनुसार पार्टी गतिविधिहरूलाई समयसापेक्षरूपमा अघि बढाउनुका साथै सूचना, प्रविधि र सञ्चार क्षेत्रको प्रभावकारी प्रयोगमा जोड दिनुपर्ने सुझावहरू समेत दिएका थिए ।