२६ जेष्ठ २०८३, मंगलबार

भेरी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत, १८ साउन । रुकुम पश्चिम हुँदै बग्ने ठूलीभेरी र सानीभेरी नदीमा जलसतह बढेको छ । डोल्पा हुँदै रुकुम पश्चिम, जाजरकोट भएर बग्ने ठूलीभेरी र रुकुमपूर्व हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने सानीभेरी नदीले सतर्कता तह पार गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति ठूलीभेरी नदीले खतरा तह पार गरेको थियो । बिहान भने तह केहि कम रहेको छ । रिम्नामा रहेको जलमापन केन्द्रका ग्रेड रिडर लक्ष्मी शाहीका अनुसार आइतबार बिहान ५ बजे ठूलीभेरी नदीको सतह ५.५५ मिटर रहेको थियो भने ८ बजे ५.३५ मिटर देखिएको छ । अहिले सतह केहि कम भएता पनि वर्षा भइरहकाले सतह बढ्ने बताइएको छ ।

त्यसैगरी सानीभेरी नदीको तह पनि बढेको छ । सानीभेरी गाउँपालिका ९ को सिम्लीमा रहेको जलमापन केन्द्रका ग्रेड रिडर वीरेन्द्र कुमार केसीका अनुसार आज बिहान सानीभेरीको सतह ३.८० मिटर रहेको छ । शनिबार २.८ मिटर रहेको नदीको तह राति बढेको उनले जानकारी दिए ।

वर्षा भइरहेकाले नदिको सतह अझै बढ्ने उनको भनाइ छ । नदीको सतह अझै बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको जलमापन केन्द्रले जनाएको छ ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले नदी आसपासका क्षेत्रमा सतर्ककता अपनाउन आग्रह गरेका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जानकारी दिएकाले पूर्व सूचनाको ख्याल राख्न आवश्यक रहेको उनले बताए ।

जोखिममा रहेका स्थानहरु र घटनाहरु भएमा तत्काल जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधिहरु, नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत उनको आग्रह छ ।