
काठमाडौं, १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट रहेको भन्दै संविधानले दिएको अधिकार अनुसार नै वर्षा सिजनपछि व्यवस्था परिवर्तनको लागि आन्दोलन हुने बताएका छन् ।
आज पार्टीको काठमाडौं–७ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने हुँदा जनताको परिवर्तनको चाहनालाई कुनै शक्तिले रोक्न नसक्ने बताए ।
गत जेठमा भएको आन्दोलनमा तयारी, गृहकार्य, समन्वय र रणनीतिमा केही अभाव भएको कारण टुंगोमा नपुगेको भन्दै थापाले अब पूर्ण तयारीका साथ आन्दोलनको आवश्यकतामा जोड दिए । समान विचार राख्ने र परिवर्तनको हुटहुटी भएकाहरुको बीच गम्भीर चिन्तन, तयारी र स्पष्ट कार्यदिशासहित अघि बढ्नु समयको माग भएको भन्दै थापाले अहिलेको व्यवस्थाले मुलुकको स्वाधिनता, अखण्डता, समृद्धिको चाहना पूरा हुन नसक्ने दाबी गरे ।
“भ्रष्ट उत्पादन गर्ने व्यवस्था टिक्दै टिक्दैन, जनताले विद्रोह गर्छन्” थापाले भने, “सबै क्षेत्र लथालिङ्ग छ, मनपरितन्त्र र सर्वसत्तावादी चिन्तन बोकेर अधिनायकवादी बाटोमा हिँड्नेहरुलाई जनताले नसिहत दिने उनको भनाइ थियो ।
आगामी निर्वाचनबाट जनताले मत र मन दुवै परिवर्तन गर्ने उनले ठोकुवा गरे ।
भेलाले लाक्पा शेर्पाको अध्यक्षता २१ सदस्यीय क्षेत्रीय समिति निर्वाचित गरेको छ । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, अमर केशी, प्रदीप कार्की, उज्वल पोखरेल लगायले बोलेका थिए ।








प्रतिक्रिया