
पोखरा, १७ साउन । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय योजनाबद्ध रूपमा जनताको चाहनाअनुसार अगाडि बढिरहेको बताएका छन् ।
लिकबाट बाहिर गएको अर्थतन्त्र र शासन प्रणालीलाई सरकारले व्यवस्थित बनाएको चर्चा गर्दै उनले जनताको अपेक्षाअनुरूप परिणाम दिनेगरी काम भइरहेको उल्लेख गरे ।
सत्तारुढ दल नेकपा (एमाले) का उपमहासचिव समेत रहेका गुरुङले पार्टी निर्माणका लागि अघिल्लो कार्यकालमा ल्याइएको दुई कार्यकाल अध्यक्षको सीमालाई परिमार्जन गर्न लागिएको बताए ।
“समृद्धि र विकास एमालेकै नेतृत्वमा सम्भव छ” उनले भने, “मुलुकको आवश्यकताअनुसार पार्टीको नेतृत्व क्षमता अझै उचाइमा पु¥याउन विधान संशोधन प्रस्ताव आएको छ ।” पोखरामा आज सुरु भएको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा उनले यस्तो भनाइ राखे ।
एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले शक्तिशाली पार्टी प्रभावशाली नेतृत्वबाट सम्भव हुने भएकाले एकताबद्ध भएर जनता कहाँ पुग्न आग्रह गरे । एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीमा दक्षिणपन्थी अवसरवाद र अनुशासनहिनता हाबी हुने वातावरण बनाउन नहुनेमा जोड दिए ।
कार्यक्रममा एमाले प्रदेश उपाध्यक्ष मिनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव तथा प्रचार विभाग प्रमुख मञ्जु अधिकारी, उपसचिव दामबहादुर विक लगायतले बोलेका थिए । आजबाट सुरु भएको बैठक भोलीसम्म चल्ने छ ।








प्रतिक्रिया