
भक्तपुर, १७ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन् ।
कांग्रेस सूर्यविनायक नगरसमितिले आज यहाँ आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।
सहमहामन्त्री परियारले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनःराजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेकाले अब संविधान संशोधन गर्ने क्रममा यस व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड दिए ।
नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नसक्ने गरी गरेको निर्णय स्वागत योग्य रहेको उनको भनाइ थियो । “पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक होइन । उहाँबारे एमालेले जे निर्णय गर्यो, त्यो सही निर्णय हो । कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ”, सहमहामन्त्री परियारले भने ।
उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ मंसिरभित्र गर्नु उपयुक्त हुने बताए । “कांग्रेसमा वर्तमान नेतृत्वको कार्यकाल विसं २०८२ मंसिरमा सकिँदैछ, तर महाधिवेशनको तयारी सुरु भएको छैन । अब मंसिरमा महाधिवेशन सम्भव नभएकाले एक वर्ष म्याद थपेर अर्को वर्षको मंसिरमा महाधिवेशन गर्नुपर्छ”, सहमहामन्त्री परियारले भने ।









प्रतिक्रिया