२२ जेष्ठ २०८३, शुक्रबार

सरस्वती ज्ञवालीको ‘क्षितिज आमा र धरती’ लोकार्पण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । सरस्वती ज्ञवालीको संस्मरण पुस्तक ‘क्षितिज आमा र धरती’ को लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो ।

पुस्तकको लोकार्पण राधिका शाक्य, विन्दु शर्मा, शिशिर खनाल, गिरी श्रीसमगर लगायतले संयुक्त रुपमा गरे ।

पुस्तकमा एउटी आमाले सन्तानप्रति देखिने, गरिने माया, स्नेह, त्याग, तपस्या, समर्पण र प्रेम पस्किएको प्रथम महिला राधिका शाक्यले बताइन् । उनले भनिन्, “यो पुस्तक आफैँमा हौसला र प्रेरणाको स्रोत हो, जुन फरक क्षमता भएकी छोरी पात्र मात्रै हुन्, यो सबै व्यक्तिका लागि आवाज बनेको छ ।”

उनले भनिन्, “सरस्वती जी र ममा धेरै समानता छ, आम मनिसले सोच्ने जीवनभन्दा हाम्रो जीवन फरक छ । दिनदिनै गर्ने काम, कर्तव्य उस्तै छन् र पनि उहाँले यो व्यस्त समयमा जीवनका कुराहरू लिपिबद्ध गर्नुभयो ।” उनले सरस्वती ज्ञवालीको प्रशंसा गरिन् ।

पुस्तककी लेखिका सरस्वती ज्ञवालीले आफूले आफ्नो दुःख पीडा पुस्तकमा समेटेको बताइन् । उनका अनुसार यो पुस्तक कसैलाई रुवाउनका लागि लेखिएको होइन, नितान्त व्यक्तिगत भोगाइ समेतिएको छ । उनले भनिन्, “मैले कसैलाई रुवाउन यो पुस्तक लेखेकी होइन, मेरो जीवनमा राम्रा दिनहरू पनि छन्, म सफलताका कथा पनि दिन सकूँ ।”

यस्तै, किताबको समीक्षा गर्दै कवि गिरी श्रीस मगरले आमा साउने झरी रहेको बताए । उनले भने, “आमा साउने झरी हो, निरन्तर छहारी दिने वृक्ष हो जुन आमाले जन्म दिएको सन्तान संसारको जुनसुकै कुनामा पुगे पनि अखिरमा फर्केर आमासँगै आउने हो भन्ने कुरा आमालाई मात्र विश्वास हुन्छ ।” आमा नै विश्वासको पात्र, गहिरो प्रेम रहेको उनको भनाइ छ ।

नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष शिशिर खनालले यो किताब पढ्दा आफ्नो आमाको याद आएको बताए । उनले भने, “म जन्मजात आँखा नदेख्ने भए, मेरो आमाले बच्चा देख्ने होस् भनेर के–के गर्नु भएन, कति सङ्घर्ष गर्नुभयो तर म केही देखिन, मैले नदेख्दा मात्रै मेरो घरका लाई कति दुःख भयो, उहाँको झन् त्यो हालत छ, कस्तो होला म महशुस गर्न सक्छु ।” यो किताबलाई ब्रेल लिपिमा लैजान सय प्रतिशत सहयोग गर्नेमा उनले प्रतिबद्धता जनाए ।