
हेटौंडा, १७ साउन । प्राचीन संस्कृति र ऐतिहासिक सम्पदाले भरिपूर्ण पनौतीको मुटुमा अवस्थित त्रिवेणीघाट क्षेत्रको संरक्षणका लागि आज एक महत्वपूर्ण कदम अगाडि बढाइएको छ ।
काठमाडौं विश्वविद्यालयका आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले त्रिवेणीघाट क्षेत्रको सांस्कृतिक सम्पदाको विस्तृत नक्साङ्कन तथा संरक्षणका सम्भावित प्रस्तावहरू तयार पारी पनौती नगरपालिकाका प्रमुख र उपप्रमुखलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका २६ जना विद्यार्थीको टोटीले करिब ५ महिनाको अध्ययन, नापजाँच र सम्पदाको अध्ययनपछि तयार पारिएको प्रतिवेदनको चित्रसहित पनौतीको लायकु स्थानमा प्रदर्शनी गरिएको थियो ।

‘त्रिवेणीघाट संरक्षणसम्बन्धी प्रदर्शनी’ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री एकालाल श्रेष्ठले आर्किटेक्ट अध्ययनरत विद्यार्थीहरूको अथक मेहनत कार्यले पनौतीको समृद्ध इतिहासलाई संरक्षण गर्न मद्दत पुर्याउने बताए । प्रतिवेदनले पनौतीको यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गराउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
विद्यार्थीहरूको टोलीले तयार पारेको प्रतिवेदनमा त्रिवेणीघाट क्षेत्रका मुख्य सम्पदाहरू जस्तै ऐतिहासिक मन्दिरहरू, पुराना धारापाटी, प्राचीन बस्ती संरचना, घाट तथा धार्मिक आयोजनाका स्थानहरूको नक्साङ्कन गरिएको छ । साथै, संरक्षणका लागि उपयुक्त निर्माण प्रविधि, हरित संरचना, संवेदनशील पुनःस्थापना उपाय, सामुदायिक सहभागिता तथा दीर्घकालीन व्यवस्थापन रणनीतिहरूसमेत समेटिएको आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थी अंकित श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले विद्यार्थीहरूबाट प्राप्त प्रस्तावलाई गम्भीरतापूर्वक लिइने र आगामी नगर योजना तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । त्रिवेणीघाटको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व स्मरण गर्दै यस किसिमको प्राविधिक अध्ययनले संरक्षण अभियानलाई दिशा दिने उनको विश्वास छ ।









प्रतिक्रिया