११ असार २०८३, बिहिबार

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प छैन : बोगटी

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १७ साउन । नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले आगामी २०८४ सालमा पार्टीलाई निर्णायक शक्ति बनाउनुको विकल्प नभएको बताएका छन् । देशले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालिन लक्ष्य पूर्तिका लागि आसन्न निर्वाचनमार्फत एमालेलाई निर्णायक शक्ति बनाउनु पर्ने भएकाले सम्पूर्ण पार्टीपंतिलाई त्यसै अनुसार लाग्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका इन्चार्ज बोगटीले पछिल्लो पटक पार्टीले लिएको सिद्धान्त, विचार, नीति, कार्यक्रम, व्यवहार र नेतृत्व सही सावित हुँदै गएका कारणलेनै आम नेपालीको भरोसा एवम् रोजाइको पार्टी बन्न एमाले सफल भएको उल्लेख गर्दै उनले एमालेले लिएको नीति र लक्ष्य पूरा गर्नका लागि भोटका माध्यमबाट पहिलो शक्ति बनाउनु पर्नेमा जोड दिए ।

‘पार्टी भित्रैका केही व्यक्ति दक्षिणपन्थी अवसरवादको रसातलमा फस्ने गरेका तथा महत्वाकांक्षा, पदलोलुपता, रिस, आवेग र आग्रहको चपेटामा पर्दै गर्दाको परिणामस्वरूप एमालेले पटकपटक फुट तथा विभाजनको पीडा पनि भोग्दै आउनु परेको तथ्य हामी सबैलाई जगजाहेर भएकै विषय हो’ उनले भने, ‘फुट र विभाजनका कारण क्षेणिक समय पार्टीले र सिङ्गो देशले केही नोक्सानी व्यहोर्नु परेको भएता पनि राजनीतिक इतिहासमा पार्टी विभाजनको गलत कार्य कहिल्यै पनि सत्य सावित हुन सकेको छैन ।’

एमालेलाई फुटाएर वैकल्पिक शक्ति निर्माण गर्ने दिवास्वप्ना देखेर पार्टीलाई फुटाउन गरिएका गलत हर्कत कहिल्यै पनि सही सावित हुन नसकेको बताउँदै इन्चार्ज बोगटीले हिजो पार्टीको शीर्ष स्थानमा रहिसकेका केही नेताहरु पार्टी विभाजनको बहकाउमा लागेर बाहिरिएका मध्येका केही नेताका हिजो आजका अभिव्यक्तिबाट पनि पार्टी फुटाउनु गलत कार्य भएको र त्यस कार्यले आफू पश्चातापमा भएको अभिव्यक्ति दिने गरेका घटनाबाट पनि त्यस्तो कार्य गलत भएको पुनः पुष्टि भएको बताए ।

‘बनेको पक्की घर भत्काएर प्वाल परेको टिनको छानामुनी बस्ने काम कदापी पनि उचित हुने कुरा थिएन । गलत बाटोको रोजाइको परिणाम अन्ततः गलत ठाउँमानै पुग्नुपर्ने थियो र जो भयो पनि’ नेता बोगटीले भने ।

हिजो विभिन्न कारणले एमालेबाट बाहिरिएका हजारौं कार्यकर्ताहरु पुनः एमालेमा सामेल भै पार्टी अभियानमा जुट्न आग्रह समेत गरेका बोगटीले यो अभियानलाई कर्णालीका दशवटै जिल्लाका प्रत्यक बस्तीमा पुर्‍याउन आग्रह गर्दै नेता बोगटीले यसका लागि एमाले अझै सुदृढ हुन र अन्य वामपन्थी शक्ति एवम् व्यक्तिलाई पार्टीमा समाहित गराउन जरुरी रहेको बताए ।