२४ जेष्ठ २०८३, आइतबार

२०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउने लक्ष्य छ : महासचिव पोखरेल

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १७ साउन । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले २०८४ सालमा एमालेको एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको बताएका छन् ।

महासचिव पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताए । उनले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा राखे ।

पार्टीका उपमहासचिव एवं सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी निर्माणका लागि अघिल्लो कार्यकालमा ल्याइएको दुई कार्यकालको सीमालाई परिमार्जन आवश्यक देखिएकाले विधान संशोधन प्रस्ताव आएको उल्लेख गरे ।

उपमहासचिव गुरुङले समृद्धि र विकास एमालेकै प्रभावशाली नेतृत्वमा सम्भव रहेको भन्दै, मुलुकको आवश्यकता अनुसार पार्टीको नेतृत्व क्षमता अझै उचाइमा पुर्‍याउन संशोधन प्रस्ताव आएको बताए । उनले नेतृत्व क्षमता र निरन्तर मेहनतका आधारमा नेतृत्व चयन हुने व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालय जनताको चाहना अनुसार अगाडि बढिरहेको र परिणाम दिन प्रयत्नशील रहेको दाबी गरे ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङले प्रभावशाली पार्टी केवल प्रभावशाली नेतृत्वबाटै सम्भव हुने भन्दै सबै नेता तथा कार्यकर्तालाई एकता कायम गर्दै जनतामाझ जानुपर्नेमा जोड दिए ।

त्यसैगरी, स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीमा दक्षिणपन्थी अवसरवाद र अनुशासनहीनता हाबी हुन नहुने बताउँदै सबै कमिटी तथा सदस्यहरू पार्टीको नीति र निर्णयअनुसार दृढताका साथ लाग्नुपर्ने धारणा राखे ।

गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले बैठकमा प्रदेशमा भएका संगठनात्मक कार्य, आगामी रणनीति तथा अभियानबारे छलफल हुने जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशबाट सरकारको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी राष्ट्रिय सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य भगवती न्यौपानेलाई बधाई ज्ञापनसहित सम्मान समेत गरिएको थियो ।

अध्यक्ष शर्माको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्यहरू जगतबहादुर विश्वकर्मा, टुकराज सिग्देल, मनकुमारी जिसी, लिलाबहादुर थापा तथा केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, भीम कार्की, इन्द्रलाल सापकोटा, कृष्ण थापा, चुडामणि जंगली, बालसिंह काउछा मगर, सिता सुन्दास, प्रभा कोइराला लगायतका नेताहरू सहभागी थिए ।

त्यस्तै, प्रदेश उपाध्यक्ष मिनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव तथा प्रचार विभाग प्रमुख मन्जु अधिकारी, उपसचिव दामबहादुर विक लगायतका सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीति सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

दुई दिनसम्म चल्ने बैठकले पार्टीको हालका गतिविधिको समीक्षा गर्दै समसामयिक विषयमा व्यापक छलफल गर्ने र आगामी कार्यक्रमको योजनासमेत तय गर्ने प्रचार विभाग सचिव रामजीप्रसाद लम्सालले जानकारी दिए ।