
बुटवल, १७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले यो बिषयमा संवेदनशील बन्न जरुरी छ ।’
लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उनले जोड दिए । ‘मुलुक बनाउन बाहिरबाट कोही आउँदैन । हामी आफैले बनाउनु पर्छ,’ उनले भने ।
मुख्यमन्त्री आचार्यले सरकार समस्याको समाधानका लागि सुन्न र कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पारे । उनले मिडिया संस्थाको संख्या वृद्धि भएकाले सरकारले बजेटको आकार बढाउन भूमिका खेलिरहेको बताए । ‘राजस्वमा डेढ अर्बले वृद्धि गर्न सकेका छौँ । सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्,’ उनले भने ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको र मिडियाको हकहितका लागि वकालत गरिरहेको उनले उल्लेख गरे ।
‘सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘अहिले अर्थ मन्त्रालयमा पुगेको ऐन मन्त्रिपरिषद् हुँदै यही वर्षे अधिवेशनमा सदनमा प्रस्तुत हुन्छ । सञ्चार ऐनमा आवश्यक सुधार यही वर्ष हुन्छ ।’









प्रतिक्रिया