
काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजन गरेर गल्ती गरिएको स्वीकार गरेका छन् ।
पत्रकार जगदीश खरेलसँगको कुराकानीमा खनालले एमाले विभाजन गरेर नयाँ राजनीतिक दल गठन गर्नु गल्ती भएको स्वीकार गरेका हुन् ।
नेता खनालले एमालेमा विद्रोह गरेर नयाँ दल बनाउने निर्णयको औचित्य प्रमाणित गर्न नसकिएको पनि स्पष्ट पारेका छन् । उनले आफ्नो राजनीतिक संघर्षको इतिहास स्मरण गर्दै भने, “नेकपा एमालेप्रति अनुराग छ, माया छ । त्यो पार्टी बनाइयो । लडाइँ गरियो । जेल नेल खाइयो । अनि माया हुँदैन ?”
खनालले व्यक्तिगत विरोधभन्दा संस्थागत महत्वलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्वको पक्षमा नजाने तर एमालेलाई एक महत्वपूर्ण कम्युनिस्ट संस्थाका रूपमा हेर्ने दृष्टिकोण व्यक्त गरेका छन् ।
“ओली होइनन्, म व्यक्तिको पक्षमा जान्न । तर, नेकपा एमाले भनेको एउटा संस्था हो, जो एउटा कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो । त्यो संस्थालाई त्यति बेला छाडेर विद्रोह गर्ने कुरा चाहिँ गलत थियो ।” उनले भने ।
खनालले आफ्नै वर्तमान पार्टीको नेतृत्व माधवकुमार नेपालमाथि पनि गम्भीर आपत्ति जनाएका छन् । उनले अध्यक्ष नेपालले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् । वरिष्ठ नेताका रूपमा आफूलाई पार्टीका महत्वपूर्ण निर्णयहरूमा संलग्न नगराइएकोमा उनको असन्तुष्टि छ । “दलका महत्त्वपूर्ण निर्णयमा मलाई संलग्न गराउन छोडिएको छ । यो पार्टी व्यक्तिको बपौति होइन,” खनालले भने ।
खनालले एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्दा नेपालसँग आधारभूत कुराहरूमा सहमति भए पनि अहिले मुख्यतः सिद्धान्तगत विषयहरूमा मतभेद रहेको पनि बताए । उनले वैज्ञानिक समाजवादको पक्षमा कुरा गरे पनि नेपालले जनताको बहुदलीय जनवाद त्याग नगरेकाले समस्या सिर्जना भएको उल्लेख गरेका छन् ।
पार्टी नेतृत्वको कार्यशैलीमाथि गहिरो असन्तुष्टि व्यक्त गर्दै खनालले हालैका घटनाहरूको उदाहरण दिएका छन् । उनले समाजवादी मोर्चाको बैठक आफ्नै पार्टी कार्यालयमा भए पनि आफूलाई जानकारी नदिइएको गुनासो गरेका छन् । वामदेव गौतमलाई बोलाइए पनि आफूलाई नबोलाइएकोमा उनको आक्रोश देखिएको छ ।
खनालले एकीकृत समाजवादी अहिले कुनै पनि राजनीतिक दल वा मोर्चासँग एकता गर्ने अवस्थामा नरहेको स्पष्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताका पहल चलिरहेको भन्ने कुरा केवल मिडियाबाट थाहा पाइरहेको भन्दै उनले पार्टी कमिटीमा यस विषयमा कुनै छलफल नै नभएको बताए ।
कुनै पनि राजनीतिक दलसँग एकता गर्नुअघि स्पष्ट आधार निर्धारण हुनुपर्ने र संस्थागत निर्णय गर्न पदाधिकारीहरूबीच छलफल आवश्यक रहेको खनालको भनाइ छ । “अहिले नेकपा एमाले होस् या माओवादी, कुनै पनि दलसँग एकता गर्ने सम्भावना छैन” खनालले भने ।









प्रतिक्रिया