५ असार २०८३, शुक्रबार

सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसमा ८२ जनाले गरे रक्तदान

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १५ साउन । सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा ८२ जनाले रक्तदान गरेका छन् ।

सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन उदयपुरले आयोजना गरेको बृहत् खुल्ला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेको संगठनका उदयपुर अध्यक्ष पुण्य पौडेलले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेतादेखि प्रहरी प्रशासन र निजामती कर्मचारीसम्मले रक्तदान गरेका थिए । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित बृहत रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धरान र उदयपुरको प्राविधिक सहयोग रहेको थियो ।

नेपाल निजामती कर्मचारी संगठन उदयपुरले हरेक वर्ष साउन १५ गते सहिद मनोज–झपेन्द्र स्मृति दिवस मनाउँदै आएको छ । यस वर्ष भने संगठनले सहिद सुरेन्द्र विश्वकर्माको समेत स्मरण गर्दै स्मृति दिवस मनाएको हो ।

२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका मनोज जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक झपेन्द्र कार्कीको स्मृतिमा हरेक वर्ष साउन १५ गते नेपाल निजामती कर्मचारी संगठनले विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सहिद सुरेन्द्र विश्वकर्माको जिल्ला स्वास्थ्य कार्यालय मुगुमा कार्यरत रहेका बेला तत्कालीन विद्रोही पक्षले २०६४ साल माग ८ गते हत्या गरेको थियो । उनी त्यसबेला निजामती कर्मचारी संगठन मुगुको जिल्ला अध्यक्ष रहेका थिए ।

संगठनको विभिन्न जिम्मेवारीमा रहेर राज्यलाई सहयोग गर्दागर्दै आफ्नो ज्यान गुमाएका सहकर्मी साथीहरु गुमाउनु पर्दाको पीडालाई वर्षमा एक दिन भएपनि विविध कार्यक्रमको आयोजना गरेर सम्झना गर्ने गरिएको संगठनका उदयपुर अध्यक्ष पौडेलको भनाई छ ।