
हेटौंडा, १५ साउन । बागमती प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीहरुको शपथ आज पनि नहुने भएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठको हिजै हुने भनिएको शपथ आज दिउँसो १ बजेका लागि सारिएको थियो । तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बिहानै काठमाडौं प्रस्थान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथ ग्रहण कार्यक्रम स्थगन गरिएको छ ।

हिजो नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आजका लागि सारिएको थियो । संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए ।
यसैबीच, दलको नेतामा निर्वाचित बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।








प्रतिक्रिया