२७ जेष्ठ २०८३, बुधबार

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतृत्व चयनका लागि मतदान हुँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि बढाएको हो ।

कांग्रेस प्रदेश कार्यसम्पादन समितिले आज बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्दै दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ । निर्वाचन प्रक्रियालाई सफल रूपमा सम्पन्न गर्न तीन सदस्यीय समिति गठन गरिएको छ, जसको संयोजकत्वमा प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ छन् भने सदस्यमा सहमहामन्त्री ऋषिराम घिमिरे र जीवन डंगोल रहेका छन् ।

मंगलबारको दल बैठकमा लामाविरुद्ध २२ सांसदले मत दिएका थिए, जुन संख्या कांग्रेस संसदीय दलभित्र स्पष्ट बहुमत हो । लामाको पक्षमा १५ सांसद मात्र देखिएका थिए । लामालाई हराउँदै बलियो बनेको यो समूहको नेतृत्व प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका छन् । यही समूहबाट नयाँ नेताको उम्मेदवारीमा बलियो दाबेदारी रहेको बुझिएको छ ।

२०७९ पुस १३ मा भएको निर्वाचनमा भने लामा आफैले बानियाँलाई पाँच मतले पराजित गरेका थिए । तर, अहिले परिस्थितिमा ठूलो उलटफेर आएको देखिन्छ । लामाविरुद्धको अविश्वास प्रस्ताव दर्तासँगै कांग्रेसका पाँच मन्त्रीहरूले राजीनामा दिएका छन्, जसमा मंगलबारमात्रै खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामबहादुर खड्का पनि थपिएका हुन्। बाँकी चार मन्त्रीलाई लामा सरकारले पदमुक्त गरिसकेको छ । यद्यपि, लामाले स्पष्ट रूपमा भनेका छन्, ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कानुनी बाध्यता छैन् ।’

आजको मतदान परिणामले दलभित्रको शक्ति सन्तुलन मात्र होइन, मुख्यमन्त्रीको स्थायित्वमा समेत गम्भीर असर पार्ने निश्चित छ । कांग्रेस बागमती प्रदेशको यो सत्ता संघर्षले अबको राजनीतिक दिशा स्पष्ट पार्नेछ ।