२३ असार २०८३, मंगलबार

भूमि र शिक्षा विधेयकमा कांग्रेसको दोहोरो चरित्र तल्लो स्तरको राजनीतिक दाउपेच : राजन भट्टराई

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले भूमि र शिक्षासम्बन्धी विधेयकहरूमा नेपाली कांग्रेसले देखाएको भूमिका लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै डा. भट्टराईले लेखेका छन्, ‘नेपाली कांग्रेसको भूमि र शिक्षा सम्बन्धित विधेयकहरू माथिको दोहोरो चरित्र अति नै तल्लो स्तरको राजनीतिक दाउपेच जस्तो लाग्यो, माथि संयन्त्रमा एउटा कुरा, बाहिर आएपछि अर्को ? सत्ता साझेदारी गरिरहेको दलको यो व्यवहार लोकतन्त्रमा कति उचित हो ? मूल्यांकनको विषय हो ।’

उनको स्ट्याटसमा प्रत्यक्ष रूपमा कांग्रेसमाथि विधेयकका संवेदनशील विषयहरूमा भ्रमपूर्ण र अविश्वसनीय भूमिका खेलेको आरोप लगाइएको छ । संसदमा छलफल हुँदै गरेका शिक्षा विधेयक र भूमिसम्बन्धी विधेयकमा सरकारभित्र रहेका दलहरूबीच भित्री सहमति र बाहिरी व्यवहारमा देखिएको असमझदारीप्रति डा. भट्टराईले गम्भीर प्रश्न उठाएका हुन् ।

नेपाली कांग्रेस हाल सरकारको प्रमुख घटक दल हो । तर, पार्टीका सांसदहरूले शिक्षा विधेयकको सन्दर्भमा विभिन्न धाराहरूमा आफू अनुकूल परिमार्जन माग गर्दै आएका छन् । भूमिसम्बन्धी विधेयकका हकमा पनि कांग्रेसभित्रबाट फरक मत आएको देखिएको छ ।

डा. भट्टराईले सरकारभित्र नीति र कानुन निर्माणका विषयमा स्पष्ट दृष्टिकोण नदेखिएको र जनताका हितसँग प्रत्यक्ष सरोकार राख्ने विधेयकहरूमा राजनीतिक स्वार्थ अनुसार दोहोरो भूमिका खेल्नु लोकतान्त्रिक अभ्यासविपरीत रहेको धारणा राखेका छन् ।

भूमिसम्बन्धी विधेयकमा समेत कांग्रेसको ‘अनिर्णीत भूमिका’प्रति एमालेको असन्तुष्टि छ । भट्टराईको यो अभिव्यक्तिलाई कांग्रेस र सत्तारूढ गठबन्धनभित्रको समन्वयको कमी र संसदीय राजनीति भित्रको अविश्वासको संकेतका रूपमा हेरिएको छ ।