
काठमाडौं, ११ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
भर्खरै सम्पन्न एमालेको नवौं केन्द्रीय किमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेकोमा आभार व्यक्त गर्दै अध्यक्ष ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने स्पष्ट पारे ।
‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरु संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौँ’ बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रुपमा समाधान हुन्छ । तपाईंहरु यसमा अल्मलिनुभन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’

राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरु देखेर अत्तालिएका शक्तिहरुकै कारण पार्टी भित्र अस्थिरताको हावा चलाएको उल्लेख गरेका अध्यक्ष ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिंगो एमालेका लागि दुःखत कुरा भएको बताएको बैठकमा सहभागि एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए ।
‘पार्टीको महत्वपूर्ण जिम्मेवारी देखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपति ज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामी (एमाले)ले कल्पना पनि गरेका थिएनौँ’, उनले थपे, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धी (संघीय लोकतान्त्रिक गणतन्त्र)को प्रतिमाका रुपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ ।’
देशकै अविभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण नवौं केन्द्रीय कमिटीमार्फत एमाले पछिल्लो निर्णयमा पुग्नु परेको बताएका अध्यक्ष ओलीले कर्णालीका दशवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न एक शुत्रिय अर्जुन दृष्टिका साथ लाग्न निर्देशन दिए । आफूले पार्टीको नेतृत्व सम्हालेको सेकेण्डदेखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने ? कसरी राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने ? भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेको अबको ध्यान ८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिए ।
बैठकमा एमाले कर्णालीका नेताहरुले पार्टी अध्यक्ष ओलीसमक्ष कर्णालीको संगठन र समृद्ध कर्णाली निर्माणमा सरकारले तय गर्नुपर्ने प्राथमिकताका विविध विषयवस्तुहरु राखेको एमाले कर्णाली इन्चार्ज बोगटीले जानकारी दिए ।उनका अनुसार नवौं केन्द्रीय कमिटी बैठकपछि एकताबद्ध रुपमा पार्टी अध्यक्षसमक्ष गहन छलफल गर्ने पहिलो प्रदेशका रुपमा रहेको कर्णालीले पार्टीलाई एकताबद्ध बनाउँदै मिसन ८४ मार्फत देशकै पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित गर्न अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य भएकोमा जोड दिएको छ ।
पार्टीको केन्द्रीय कमिटीमा कर्णालीबाट प्रतिनिधित्व गर्ने अधिकांश नेताहरुको उपस्थिति रहेको बैठकको संयोजन प्रदेश इन्चार्ज बोगटीले गरेका थिए ।










प्रतिक्रिया