
–अन्जनी कुमार अधिकारी
उदयपुर, १० साउन । नेकपा (एमाले) निकट अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ जिल्ला कमिटी उदयपुरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सदरमुकाम गाईघाटस्थित एमाले पार्टी कार्यालयमा सम्पन्न प्रथम अधिवेशनले जितेन्द्रकुमार महतोको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार शाह र अनिताकुमारी शाह, सचिवमा सहदेव मण्डल, सहसचिवमा रन्जित शाह रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा सूर्यदेव शर्मा, सिताकुमारी शाह, शिवनाथ शाह, पशुपति शाह र कविता शाह रहेको एमाले उदयपुरका उपसचिव तथा जनसंगठन विभाग प्रमुख हेम खड्काले बताए । प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित महतो यसअघि उदयपुर जिल्लाको तदर्थ कमिटिको संयोजक थिए ।
प्रथम जिल्ला अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका इन्चार्ज बलेश्वर कामतले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामतले अधिकार मागेर मात्र नपाइने भएकाले खोसेर लिनुपर्ने बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पिछडा वर्गका समुदायको हकहित र पिछडा वर्गका समुदायको समेत राजनैतिक पहुँच स्थापित गर्न पार्टीमा अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ नामको जनवर्गीय संगठनको गठन गरेको उल्लेख गरे । राज्यले हरेक निकायमा पिछडा वर्गका समुदायलाई आरक्षण दिनुपर्ने समेत उनले धारणा राखे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका महिला विभाग प्रमुख रुपा महतोले अखिल नेपाल पिछडा वर्ग महासंघमा महिलाहरुको उल्लेख्य सहभागीता रहेको बताइन् । उनले यो देशमा पुरुषले जत्तिकै महिलाहरुले पनि परिवर्तनका खातिर बराबरी योगदान गरेको स्मरण गर्दै योगदानलाई मध्येनजर गर्दै महिला सहभागीतामा जोड्न माग गरिन् ।
एमाले उदयपुरका उपसचिव हेम खड्काले पार्टी जिल्ला कमिटीले जिल्ला भित्र पार्टीका सबै जनवर्गीय संगठनलाई क्रियाशील र चलायमान बनाउन सबै जनवर्गीय संगठनको जिल्ला अधिवेशन गराउने अभियान सुरु भएको बताए । खड्काले आफूहरु निर्वाचित भएर आएदेखि अहिलेसम्म उदयपुरमा १२ वटा जनसंगठनको जिल्ला अधिवेशन सम्पन्न भएको, ६ वटा जनसंगठनको छिट्टै अधिवेशन गरिने र ५ वटा संगठनको म्याद नसकिएको बताए ।
कार्यक्रममा अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ कोशी प्रदेश कमिटीका नेता, एमाले जिल्ला कमिटी र नगर कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया