५ असार २०८३, शुक्रबार

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १० साउन । यहाँको रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ ।

वडाका सर्वदलीय र सर्वपक्षीय बैठकमा सबैले सहमति जनाएपछि परियोजना सुरु गर्ने निर्णय गरिएको वडाध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए । वडाध्यक्ष पन्थीले अर्जुन क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थल मात्र नभई, हावाद्वारा ऊर्जा उत्पादनको उपयुक्त केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा सिफारिस गरिसकेको र हाल उर्जा मन्त्रालयलले सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाएको जानकारी दिए ।

अर्जुनबाट उनायचौर सवस्टेशनको दुरी करिब ८०० मिटर मात्र भएकाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिक्री गर्न सकिने बताइएको छ । परियोजनाबाट दैनिक आठ हजार रुपैयाँ, मासिक दुई लाख ४० हजार रुपैयाँ र वार्षिक २८ लाख ८० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रारम्भिक अनुमान छ ।

आयोजनाको प्रारम्भिक चरणका लागि एक करोड ५० लाख रुपैयाँ लगानीमा सम्भाव्यता अध्ययन तथा आवश्यक प्रारम्भिक संरचना तयार गर्ने योजना छ ।लगानीमा वडावासीलाई सेयरमार्फत सहभागी गराइने र बाँकी बजेट प्रदेश, सङ्घ र वैकल्पिक ऊर्जा केन्द्रबाट समन्वय गरी जुटाइने बताइएको छ ।

वडाका सम्पूर्ण जनप्रतिनिधिहरूले योजना उपयुक्त रहेकाले ऐक्यबद्धता जनाएका छन् । चालु आर्थिक वर्षमा सो वडामा नगरपालिकाबाट प्राप्त बजेट लक्षित क्षेत्रबाहेक अन्य भौतिक पूर्वाधार निर्माणमा खर्च नगरी सोही काममा खर्च गर्ने सर्वदलीय सहमति भएको छ ।