
काठमाडौं, ९ साउन । युवा संघ नेपालका केन्द्रीय सदस्य मङ्गलबहादुर थापाले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति च्यानल नेपाल प्रतिष्ठानका सदस्य तथा पोष्टखबर डटकमका सम्पादक प्रदीप भट्टराईलाई ज्यान मार्ने धम्की दिएका छन् । भट्टराईले आफूलाई ज्यान मार्ने धम्की आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
‘कुनै न्युज शेयर गरेको भरमा युवा संघका केन्द्रीय सदस्यबाट मेरो ज्यान लिने धम्कीको नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विचार राखेको भरमा यसरी धम्की दिनेलाई कडा कार्वाही गर्न सरकार र सम्बन्धित निकायमा माग गर्दछु ।’ भट्टराईले फेसबुकमा लेखेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पत्रकार भट्टराईलाई युवा संघका थापाले ज्यान मार्ने भन्दै दिएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति च्यानल नेपाल प्रतिष्ठानका सदस्य तथा पोष्टखबर डटकमका सम्पादक प्रदीप भट्टराईलाई युवा संघ नेपालका केन्द्रीय सदस्य मङ्गलबहादुर थापाले ज्यान मार्ने भन्दै दिएको सार्वजनिक धम्कीप्रति गम्भीर सरोकार र ध्यानाकर्षण व्यक्त गर्दछ । कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतामाथिको गम्भीर हमला हो ।’ प्रतिष्ठानका महासचिव रामचन्द्र अर्याल (आरसी)ले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस्ता क्रियाकलाप प्रेस स्वतन्त्रताको खिल्ली उडाउने गैरजिम्मेवार, आपराधिक र निन्दनीय कार्य हुन् । नेपाल पत्रकार महासंघ यस्ता धम्कीको कडा शब्दमा भर्त्सना गर्दछ र राज्य संयन्त्रका जिम्मेवार निकायलाई यस्ता कार्यमा संलग्न व्यक्तिलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, साथै पत्रकारको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ ।’
प्रतिष्ठानले प्रेसमाथिको आक्रमणलाई कुनै हालतमा स्वीकार गर्न नसकिने र प्रेस स्वतन्त्रताको संरक्षणमा दृढ र कटिबद्ध रहेको जनाएको छ ।










प्रतिक्रिया