६ श्रावण २०८३, बुधबार

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकार जिम्मेवार र संवेदनशील छ : प्रधानमन्त्री ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट गरे । संविधानले निर्देशन गरेबमोजिम सहिदहरू, बेपत्ता एवं द्वन्द्वपीडितको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियालाई यथासक्य छिटो टुङ्गोमा पुर्‍याउने लक्ष्यका साथ काम अघि बढिरहेको बताए ।

“पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ । द्वन्द्वपीडितसँग हामी विभिन्न तहमा निरन्तर छलफलमै छौँ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषय सबैको उत्तिकै चासो र सरोकार भएको विषय हो”, प्रधानमन्त्री ओलीले भने, “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्थाबमोजिम नै आयोगहरू गठन भई कार्य प्रारम्भ भएको छ । मलाई विश्वास छ, आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनु हुनेछ ।’’