२३ असार २०८३, मंगलबार

‘पूर्वराष्ट्रपतिले एमालेको राजनीति गर्दा पार्टीलाई फाइदा हुन्थ्यो तर लोकतन्त्रलाई घाटा’

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउनेभन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताएका छन् ।

पार्टीको प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पूर्वराष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने बताए ।

“विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो” हिजो सकिएको केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै पोखरेलले भने, “तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।” एमालेको सदस्यता नवीकरण नहुँदा भण्डारी घरमा बस्ने भन्ने पार्टीको अपेक्षा नरहेको पोखरेलको भनाइ छ ।

भण्डारी अभिभावक भएकोले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वभाविक नभएको पोखरेलको भनाइ छ । पत्रकारहरुको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने बताए ।

“योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन् । हामीले कसैलाई छेकेका छैनौँ” महासचिव पोखरेलले भने, “तर केन्द्रीय कमिटीको एक मतले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ।”