
बुटवल, ७ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन् । मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपनि विभाजन चाहनेहरुको सपना तुहिएको उनले बताए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष समेत रहेका पौडेलले यस्तो बताएका हुन् ।
“एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोशिस गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषरापात भएको छ” पौडेलले भने, “पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिष गर्ने तत्वहरु सपना विफल भएको छ ”।
अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको पनि बताए । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको उल्लेख गर्दै तर सरकारले यी सबै प्रयत्नलाई चिर्दै अगाडि बढिरहेको बताए ।

सरकार ढल्दैछ भनेर बारम्बार प्रचार गर्ने गरिएको, केही भएन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाई गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भने, “यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको छ ।”
उनले कांग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी ०८४ सम्मै यो गठबन्धन कायम रहने पनि बताए । “बाहिर जसरी गठबन्धन भत्किंदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन, शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको निर्माण भएको हो” अर्थमन्त्री पौडेलले भने, “आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।”
उपप्रधानमन्त्री पौडेलले बुधबारै रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर बोलबम धामको पनि अवलोकन गरेका छन् । त्यस अवसरमा बोल्दै उनले बोलबम धामको विकासका लागि सरकारले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताए ।









प्रतिक्रिया