
काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले जिम्मेवारीसहितको काम नदिए आफू लामो समयसम्म पार्टीमा बस्न नसक्ने चेतावनी दिएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले पार्टीमा पदको लोभ नभएको तर काम आवश्यक रहेको बताएका हुन् ।
‘मलाई के पद दिने भन्ने विषय उठेको छ । मलाई चाहिँदैन पद । मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् । कामबिनाको पद चाहिँदैन । कुनै पनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन । यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिन ।’ गौतमले भने, ‘मलाई काम गर्ने क्षेत्र चाहियो । एउटा जिल्ला कि, दुईवटा जिल्ला कि, आधा जिल्ला कि, एउटा पालिका कि । क्षेत्र भनेको, जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग, यी संरचनाहरू छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ ।’
गौतमले पार्टीमा आफूलाई कुनैपनि जिम्मेवारी नदिई केवल नामको पद दिनुको अर्थ नरहने उल्लेख गरे । गौतमले नेपालको संविधानमा उल्लेख गरिएको समाजवादलाई व्यवहारमा उतार्दै देशलाई विश्वकै समृद्ध समाजमा पुर्याउनुपर्ने धारणा पनि राखेका थिए ।








प्रतिक्रिया