
–अन्जनी कुमार अधिकारी
उदयपुर, ७ साउन । जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिकता प्रमाणपत्रमा अनिवार्य आमाको नाम राख्नुपर्ने बताएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक सूचना जारी गर्दै नागरिकता प्रमाणपत्रमा अनिवार्य रुपमा आमाको समेत नाम समावेश गर्न सोही अनुसार सिफारिस गर्न जिल्लाका आठै पालिका र वडालाई पत्राचार गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलद्वारा जारी पत्रमा भनिएको छ ‘नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ बमोजिम नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयहरुबाट नयाँ नागरिकताका लागि सिफारिस गर्दा उक्त अनुसूची बमोजिमको पूर्ण विवरण भरी नआउने तथा कतिपय सिफारिसमा आमाको महल खालि राखेर आउने गरेको छ । जसका कारण नागरिकता प्रमाणपत्रमा आमाको नाम उल्लेख नहुने गरेको छ । नागरिकता प्रमाणपत्रमा अनिवार्य रुपमा आमाको समेत नाम समावेश गर्न अब उप्रान्त अनलाइन प्रणालीमार्फत सिफारिस हुने नयाँ नागरिकता अनुसूची फारामहरूमा आमाको महल खालि नराखी आमाको नागरिकता बमोजिमको नाम उल्लेख गरी पूर्ण विवरण भरी पठाउनु हुन अनुरोध छ ।’ सनाखत गर्न आउने व्यक्तिलाई अन्य कागजातको अलावा आमाको समेत सक्कल नागरिकता लिएर जान सूचित गरिदिन वडा कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ मा बाबा, आमा लगायतको नामसहितको विवरण उल्लेख गरेर फारम भर्नुपर्ने कानुनी प्रावधान भएको भएपनि अहिलेसम्म कुनै पनि वडाले यो अनुसूचीमा बाबाको नाम बाहेक अन्य विवरण उल्लेख नगर्ने गरेको हुँदा अब उप्रान्त अनुसूचीमा उल्लेखित सबै विवरण अनिवार्य उल्लेख गरेर पठाउन भनिएको समेत प्रमुख जिल्ला अधिकारी लुइँटेलको भनाई छ ।
यसरी अनुसूचीमा सबै विवरण भरेर आउँदा नयाँ नागरिकता प्राप्त गर्ने छोराछोरीले आफ्नो नागरिकतामा आमा र बाबा दुवै जनाको नाम उल्लेख गरिएको नागरिकता पाउने भन्दै यसले भविष्यमा नाता प्रमाणित लगायतका विषयमा कुनै किसिमको झमेला नआउने लुइँटेलले बताए । यो नियमलाई अब उदयपुर जिल्ला प्रशासन कार्यालयले कडाइका साथ लागु गर्ने समेत जनाएको छ ।








प्रतिक्रिया