२८ जेष्ठ २०८३, बिहिबार

बागलुङमा ६ हजार घर बाढी पहिरोको जोखिममा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ६ साउन । बागलुङमा यो वर्षको बर्खामा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ ।

यहाँका अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले बर्खाको समयमा बाढी पहिरोको जोखिममा पर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी निसीखोला गाउँपालिकाका जोखिममा छन् । यस पालिकामा दुई हजार ४३८ घर बाढी पहिरोको जोखिममा रहेका समितिले जनाएको छ । सबैभन्दा कम जोखिमयुक्त घर जैमिनी नगरपालिकामा छन् । जैमिनीमा १६ घर जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा र १६० घर जोखिममा छन् ।

यस्तै, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४ र काठेखोला गाउँपालिकामा ७२० घर बाढी पहिरोको जोखिममा छन् । घरसँगै विद्यालय, सिँचाइ, कुलो, विद्युत् गृह, सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा रहेका उनले बताए ।

‘वर्षातको समय छ, जोखिम रहेका घर तथा बस्तीमा जतिवेला पनि बाढी पहिरोले बगाउन सक्छ, सबै नागरिक सचेत हुन जरुरी छ’, उनले भने, ‘हामीले पनि सबै नागरिकलाई सचेत हुनका लागि आग्रह गरेका छौँ, जोखिम मोलेर बस्नु हुँदैन भनेका छौँ, वर्षा हुँदा सुरक्षित स्थानमा गएर बस्नुको विकल्प हुँदैन, विगतमा बाढी पहिरोबाट धेरैले ज्यान गुमाउनु परेका छ ।’

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले वडा नं १ को हुल्दी क्षेत्रमा सबैभन्दा बढी घर पहिरोको जोखिममा रहेका जनाउँदै बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताए। एकीकृत बस्ती निर्माण गरेर स्थानीयलाई पुनःस्थापित गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ ।

विपद् व्यवस्थापनका लागि पूर्वतयारीका गरिरहेको भन्दै राहत र उद्धारका लागि ‘विपद् व्यवस्थापन कोष’ बनाइएको पुनमगरले जानकारी दिए ।