
काठमाडौं, ३ साउन । नेकपा (एमाले)को पोलिटब्युरोको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको हो ।
बैठकमा विधान संशोधन प्रस्तावमा छलफल जारी रहनेछ । हिजो शुक्रबारको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलेका थिए । आज बाँकी नेताहरुले धारणा राख्नेछन् ।
शुक्रबार दिउँसो सुरु बैठक छलफल नसकिएकाले दोस्रो दिन शनिबार पनि बैठक बसेको हो ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।









प्रतिक्रिया