९ असार २०८३, मंगलबार

एमाले सचिवालय बैठकले के–के निर्णय गर्‍यो ?

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेकपा (एमाले)मा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ ।

यसैगरी, चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ ।

गएराति सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ । जसअनुसार अब एमाले स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन् । पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी अनुसार लामो छलफलपछि नेताहरु उल्लेखित विषयमा सहमतिमा पुगेका हुन् ।

आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रुपमा तीनवटा कमिटी मात्र सक्रिय हुनेगरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताए ।

१५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरु पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय गरिएको छैन । तर पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष, महासचिव र उपमहासचिव एक एक, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ ।

बरालले जनाए अनुसार केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि नेताहरु बीच लामो छलफल भएको थियो । पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितीका संयोजक विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारीको प्रस्ताव गरेको भए पनि नेताहरुले त्यसलाई बढाएर १५ पुर्‍याउनु पर्ने राय दिएपछि सोही अनुसार निर्णय भएको हो । पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरेका थिए । तर नेताहरुले त्यसलाई बढाएर २५१ सदस्यीय बनाउन आग्रह गरेपछि सोही अनुसार निर्णय भएको हो । केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटब्युरोमा रहनेछन् । जसअनुसार अब एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ । हाल एमाले पोलिटब्युरो ९९ सदस्यीय थियो ।

पार्टी उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय सर्वसम्मत भएको छ । उनका अनुसार विधान संशोधनका प्रावधानमा बैठकको सुरुमा नेताहरुले विभिन्न मत राखे पनि सबै निर्णयहरु सर्वसम्मत भएका हुन् ।

ज्ञवालीका अनुसार पार्टी केन्द्रीय सदस्यहरुलाई महाधिवशेनमा उम्मेदवार हुनेगरी सहभागी हुन आफ्नै भूगोलबाट चुनिएर आउने कि स्वत आयोजकको हैसियतमा सहभागी गराउने विषयमा लामो छलफल भएको थियो । छलफलले केन्द्रीय सदस्यहरु स्वत राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने गरी निर्णय गरेको छ । विधान महाधिवेशनको हकमा यस अघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने विधानको व्यवस्थालाई यथावत राखिएको छ । नयाँ थपिएका केन्द्रिय सदस्यहरु आयोजकको हैसियतमा मात्र विधान महाधिवेशनमा सहभागी हुनेछन् ।

हिजो सचिवालयले गरेको निर्णय आज दिउँसो १ बजे बस्ने पोलिटब्युरो बैठकबाट अनुमोदन गरिने नेताहरुले जनाएका छन् । ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरु प्रस्ताव गरिने भएको छ ।