३० जेष्ठ २०८३, शनिबार

एसीसी यू–१६ कप विजेता खेलाडीलाई लुम्बिनी सरकारको नगदसहित सम्मान

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ असार । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यू–१६ इस्ट जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले प्रति खेलाडी एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो ।

बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव टिरनदाज गौतमले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लमही नगरपालिका–५, दाङ निवासी शुभम खनाल, कृष्णनगर कपिलवस्तु निवासी रौनक श्रीवास्तव र घोराही उपमहानगरपालिका निवासी प्रशिक्षक पुरणसिंह खत्रीलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।

खेलाडी खनाल र श्रीवास्तवले जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक खत्रीले ५० हजार रुपैयाँ सम्मान स्वरूप प्राप्त गरे ।

सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगर लगायतको उपस्थिति थियो ।

सदस्य सचिव गौतमले खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह थप्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘खेल क्षेत्रको विकासका लागि खेलाडीहरूमा उत्साह थपिन जरुरी छ । प्रदेश सरकारले सबै खेल क्षेत्रलाई समान दृष्टिकोणले सहयोगको हात बढाइरहेको छ । प्रदेश सरकारले यसैगरी खेल क्षेत्रको विकासमा भूमिका बढाइरहेको छ ।’

सम्मान प्राप्त खेलाडी तथा प्रशिक्षकहरूले प्रदेश सरकारको यो कदमले आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।