२ श्रावण २०८३, शनिबार

क्रिकेटर रौनक श्रीवास्तवलाई गृहजिल्लामा भव्य सम्मान

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– कृष्ण पौडेल

कपिलवस्तु, २४ असार । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका १६ वर्षीय रौनक श्रीवास्तवलाई मंगलबार गृहजिल्ला कपिलवस्तुमा भव्य सम्मान गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा जिल्ला तथा मुलुकको नाम चम्काएका रौनकलाई तौलिहवा र चन्द्रौटामा आयोजित विशेष कार्यक्रममार्फत सम्मान गरिएको हो। चन्द्रौटामा आयोजित कार्यक्रममा व्यापार संघ कपिलवस्तु, चन्द्रौटा उद्योग वाणिज्य संघ र विभिन्न समाजसेवी संस्थाहरूले संयुक्तरूपमा रौनकलाई फूलमाला, अबिर र मायाको चिनो प्रदान गर्दै स्वागत तथा सम्मान गरेका थिए।

कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले रौनकले अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरी सम्पूर्ण कपिलवस्तुवासीलाई गौरवान्वित बनाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे।

यसअघि तौलिहवामा पनि विभिन्न संघ-संस्थाहरूले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा रौनकलाई सम्मान गरिएको थियो। सो अवसरमा बोल्दै रौनकले आफूले प्राप्त गरेको सफलताले थप जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा झनै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी खेलप्रेमी तथा स्थानीयवासीहरूले रौनकको सफलतालाई प्रेरणादायी बताउँदै जिल्लामा खेलकुदको विकासका लागि खेलाडीहरूलाई थप प्रोत्साहन दिनुपर्नेमा जोड दिएका थिए।