
काठमाडौं, २२ असार । रौतहट बम काण्डका पीडित गौरीशंकर राम चमारले घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
भारतबाट काठमाडौं आएका उनले आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएका हुन् । उनले मुख्य दोषी काँग्रेस नेता अफ्ताव आलमलाई सफाइ दिने अदालतको फैसला गलत भएको भन्दै न्याय दिलाउन आग्रह गरे ।
उनका अनुसार घटनाका समयमा उनी
आलमले रौतहटको राजपुर फरहदवामा चलाएको राजा इँटाभट्टामा काम गर्थे । त्यो दिन उनी पैसा लिन घरमा गएका थिए । उनले भनाइअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो ।
यस्तो छ, उनको भनाइ–
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिए । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौं । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे- कहाँ हो यो ? आमाले भन्नुभयो- यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई । त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज तीन महिनाजति भयो । मलाई साढे ३ लाख आईसी खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन, मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो ।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम बिष्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने । त्यहाँ बम बिष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको छ । सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई/चार साल बितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको छ । मलाइ धम्की दिएको छ ।
अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ । कसरी बाँचौं म यो दुनियाँमा ? ।








प्रतिक्रिया