२६ जेष्ठ २०८३, मंगलबार

पार्टी विधानबाट दुई कार्यकाल र ७० वर्षे प्रवाधान दुवै हटाइएको हो : महासचिव पोखरेल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा हाल चर्चामा रहेको दुई कार्यकालको कार्यकारी व्यवस्था र ७० वर्षे उमेर हद दुवै प्रावधान विधानबाट हटाइसकिएको खुलासा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा भइरहेको छलछाम भनेर गरिएको प्रचारप्रति पोखरेलले आपत्ति प्रकट गरे ।

महासचिव पोखरेलले दुईवटा विधानमा देखिएको यस प्रकारको अस्पष्टतालाई व्याख्या गरेर स्पष्ट समेत पारे । पोखरेलका अनुसार २०७८ भदौमा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनमा पारित विधानलाई २०७८ मंसिरमा चितवनमा भएको १०औं राष्ट्रिय महाधिवेशनले संशोधन गरेको हो । मंसिर ८ गते मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले विधानमा रहेको दुई कार्यकालको प्रावधान हटाउने र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको पोखरेलले स्मरण गराएका छन् । त्यस बैठकले विधान महाधिवेशनले निर्धारण गरेको १९९ सदस्यीय केन्दीय कमिटीको आकार बढाएर २९९ सदस्यीय बनाउने निर्णय गरेको थियो । सोही निर्णयलाई पार्टी विधानमा समावेश गर्नका लागि मंसिर ११ गतेको बन्दसत्रमा पेश गरिएको थियो । महाधिवेशनको बन्दसत्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव सर्वसम्मत पास गरेको थियो ।

‘सोही संशोधित विधानको व्यवस्था अनुरुप डा. पुष्प कडेल तेस्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुनुभएको हो ’ महासचिव पोखरेलले लेखेका छन् । ७० वर्षे उमेरको हद नयाँ प्रवेशीलाई व्यवस्थापन गर्ने उद्देश्यले सचिवालयको निर्णय प्रस्तावमार्फत केन्द्रीय कमिटीबाट हटाइएको महासचिव पोखरेलले स्मरण गराएका छन् ।