
रामेछाप, १७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)मा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडने बेला नभएका बताएका छन् ।
एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा सांगठनिक क्षमता अभिवृद्धिका लागि जिल्लास्तरीय कार्यशालामा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बेला भएको बताए । पार्टीमाथि चौतर्फी हमला भइरहेको बेला पार्टी भित्रै यो र त्यो भनेर बहस चलाउनु उचित नहुने उनको धारणा छ । ‘अहिले केपी ओली र विद्या भण्डारी भनेर दौडने बेला होइन, पार्टीमाथि चौतर्फी हमला भइरहेको छ, एमाले माथिको आक्रमण रोक्ने बेला आफैँ भित्र प्रतिष्पर्धा गरेर पार्टीलाई कमजोर बनाउनु हुँदैन’, उनले भने ।
गुरुङले नेतृत्वको बहस महाधिवेशनको बेला हुने बताए । ‘यस विषयमा हामीले महाधिवेशनको बेला बहस गर्ने छौँ, महाधिवेशनमा हामी सही निर्णय गर्ने छौँ, नेताहरूले रहर गरेर मात्र जिम्मेवारी पाइँदैन, समयको माग र आवश्यकताले निर्णय गर्छ, त्यसैले तपाईँहरू केपी ओली कि विद्या भण्डारी भनेर दौडनु पर्दैन’, उनले भने ।

पार्टीको नेता कार्यकर्ताले पत्याएको, कार्यकर्ताले अनुमोदन गरेको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने स्पष्ट पारे । कसैले टिको लगाइदिएर नेतृत्वमा नपुगिन उनको धारणा छ । ‘पार्टीले टिको लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठिक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरा, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्षमा पुग्न सकिँदैन’, उनले भने ।
एमालेमा अहिले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता मौलाउँदै गएको गुरुङले बताए । अहिलेको बेमौसमको बाजा पानी त्यसको उपज भएको उनको धारणा छ । आफैँ भित्रको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता एमालेको लागि सबैभन्दा घातक भएको उनले बताए । ‘पार्टीमा पद बाँड्दै हिँड्ने, आफू भए ठिक, अरू हुँदा गलत भन्ने प्रवृत्ति मौलाएको छ, यो कम्युनिष्ट पार्टीको लागि घातक कुरा हो’, गुरुङले भने।
एमाले मार्क्सवादी विचार र लेनिनवादी संगठनात्मक प्रणालीबाट विकसित भएर आएको पार्टी भएको बताउँदै गुरुङले अहिले एमालेको असल पद्धति कोमामा पुगेको बताए । त्यसलाई बचाउनु आजको आवश्यकता भएको उनले स्पष्ट पारे ।
नामले मात्र कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउँदै गुरुङले एमालेलाई कम्युनिष्ट पार्टी बनाउनु हो भने मार्क्सवादी दर्शन र लेनिनवादी संगठन प्रणालीलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउनु पर्ने बताए । अहिले अभियान विना कम्युनिष्ट पार्टीका सदस्यता नवीकरण समेत नहुने स्थिति आएको भन्दै उनले पार्टी भित्र व्यापक सुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको औँल्याए ।
गुरुङले एमाले समाजवादमा पुग्ने लक्ष बोकेर अघि बढेको पार्टी भए पनि अहिलेकै विधि र पद्धतिले त्यो प्राप्त गर्न नसकिने स्पष्ट पारे । त्यसैले पार्टी कम्युनिष्ट पार्टीको सही विचारधारा बोकेर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
वर्तमान सरकारले धेरै राम्रो काम गर्न नसकेको भए पनि नराम्रो काम पनि नगरेको उनले बताए । सरकार राम्रो काम गर्ने प्रयत्नमा रहेको उनले दाबी गरे । सरकारले आहा भन्ने काम गर्न नसकेको भए पनि नराम्रा काम पनि नगरेको उनको भनाइ छ ।
संयुक्त सरकार भएका कारण त्यसका केही सीमा भएका उनले बताए । संयुक्त सरकारमा एकलौटी सरकार जस्तो गरी आफ्ना नीति र कार्यक्रम लागू गर्न नसकिने बाध्यता बुझिदिन उनले आग्रह गरे । गुरुङले केपी ओली नेतृत्वको वर्तमान सरकारले धेरै केही गर्न नसके पनि देश र व्यवस्थालाई बचाउने तथा देशको स्वाभिमानलाई झुक्न नदिने दाबी गरे । त्यसकै लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनले स्पष्ट पारे । कांग्रेस र एमालेको विचार र गन्तव्य नमिल्ने भए पनि देश र व्यवस्था बचाउने कुरामा दुवैको समान धारणा भएको गुरुङले बताए ।










प्रतिक्रिया