
धादिङ, ७ असार । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमाथि भइरहेको हमलाहरुको डटेर प्रतिकार गरिने बताएका छन् । एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणहरुबाट भइरहेको हमलाको प्रतिरोध र प्रतिकार गरिने पोखरेलले बताएका हुन् ।
एमाले धादिङको नवौं जिल्ला अधिवेशन पश्चात प्रतिनिधि परिषद्को प्रथम बैठकलाई शनिबार धादिङबेसीमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,– ‘हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउनको लागि हामीमाथि हमला भइरहेको छ । त्यसको हामीले प्रतिकार गरिरहेका छौँ । अझै एकजुट त्यसको प्रतिवाद गर्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासन सत्ताको विपक्षमा रहेको बताए । ‘नेकपा एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासन सत्ताको विपक्षमा छ । अनिर्वाचित शासन सत्ता चलाउने कुराको विपक्षमा छ । एमाले लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो । यसमा कोहीसँग सम्झौता हुँदैन’, पोखरेलले भने ।

एमाले संविधानको सर्वोच्चता र कानूनी शासनको पक्षमा रहेकोले आफूहरुमाथि हमला भइरहेको पनि कार्यकर्तामाझ उनले स्पष्ट पारे । उनले भने– ‘एमाले विकास र समृद्धिको पक्षमा छ । एमाले सामाजिक सद्भावको पक्षमा छ । त्यस कारण हामीमाथि हमला भएको हो ।’ आफ्ना कमी कमजोरी सुधार गरेर पार्टीमाथि भएका हमलाको एकतावद्ध भएर प्रतिकार गर्न कार्यकर्ताहरुलाई पोखरेलले सुझाव दिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भूमिप्रसाद त्रिपाठीले पार्टीको संगठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषणसहितको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरे ।

प्रथम प्रतिनिधि परिषद् उद्घाटन उद्घाटन समारोमा एमाले केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, जानुका सिंखडा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल लगायतले एमालेको आगामी योजना र आगामी निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टता विषयमा आफ्ना धारण राखेका थिए । पार्टीको नीति र कार्यक्रमलाई अझ जनमुखी र प्रभावकारी बनाउने प्रस्तावहरू पनि पारित गरिएको छ ।
प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शन अनुसार आगामी दिनमा एमालेले सांगठनिक सुदृढीकरण र वैचारिक स्पष्टता दुवैलाई सशक्त बनाउने एमाले धादिङकी सचिव राधिका सापकोटाले बताइन् । प्रतिनिधि परिषद्मा एमालेका पुराना नेताहरुलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया