
रौतहट, ३ असार । रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाडौं पुगेका छन् ।
राजपुर बमकाण्डमा नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै न्याय परिषद्मा निवेदन दर्ता समेत गराएका छन् ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले सफाइ दिएपछि असन्तुष्ट बनेका सिंहले मंगलबार न्याय परिषद्मामा निवेदन दर्ता गराएका हुन् ।
न्याय परिषदमा दर्ता गराएको निवेदनमा न्यायाधीशद्वयले बदनीयतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ । न्यायाधीशद्वयलाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधान बमोजिम कारबाही गर्न उनले माग गरेका छन् ।
भारतको सीतामढीमा अध्ययनरत २२ वर्षका छोरा त्रिलोकप्रताप सिंह राजपुर बमकाण्डमा मारिएको र आफू सास रहुन्जेल न्यायका लागि लडिरहने बाबु श्रीनारायणले बताए ।
०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँटाभटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेको थियो ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्री सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
पाँच वर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासँगै रिहाई भएपछि अहिले आलम परिवारिक भेटघाटमा व्यस्त छन् ।








प्रतिक्रिया