३० जेष्ठ २०८३, शनिबार

‘२०० वर्ष लोकतान्त्रिक अभ्यास गरेका मुलुकको विकाससँग नेपालको विकास तुलना गर्नु अनुचित’

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको बारेमा चिन्ता गर्नु हरेक नागरिकको कर्तव्य भएको बताएका छन् ।

प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै महासचिव पोखरेलले देशप्रति अपेक्षा हुनेले नै चिन्ता र प्रतिक्रिया व्यक्त गर्ने बताए । अपेक्षा नहुनेले प्रतिक्रिया नै व्यक्त नगर्ने बताउँदै पोखरेलले विदेशमा बसेका नेपालीले नेपालसँग अपेक्षा राखेकै कारण प्रतिक्रिया व्यक्त गरेको स्पष्ट पारे । देश पछाडि परेकामा चिन्ता गर्नु स्वाभाविक भएको बताउँदै उनले देश पछि पर्दा पनि चिन्ता नगर्ने व्यक्ति राष्ट्र भक्त हुन नसक्ने बताए । तर देश यसरी चिन्ता व्यक्त गर्दा कसरी देश पछाडि पर्‍यो भन्ने कुरा त्यतिकै ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा समाज निर्माण र विकासको क्रम नै पछि सुरु भएकोले नेपालमा लोकतन्त्र, आर्थिक सामाजिक समृद्धिको यात्रा पनि निक्कै पछि सुरु भएको उनले बताए । त्यसैले २ सय वर्ष पुरानो लोकतान्त्रिक अभ्यास गरेका मुलुकको विकाससँग नेपालको विकास तुलना गर्नु उचित नहुने उनको धारणा छ ।

नेपालले लामो समय निरङ्कुश शासन व्यवस्था बेहोर्नु परेको कारण पनि देशको विकासले गति लिन नसकेको उनले बताए । उनले लोकतन्त्रमा केही भएन भन्नेलाई राजाको शासनकाल र लोकतन्त्रमा भएको कामलाई तुलना गरेर हेर्न आग्रह गरे । अपेक्षा गरे अनुसार काम हुन नसकेको भए पनि अहिलेभन्दा पञ्चायतमा काम भएको थियो भन्ने कुरा गलत भएको उनले तथ्याङ्क प्रस्तुत गरे ।

देश असमानताबाट समानतातर्फ अघि बढिसकेको बताउँदै अब राजनीतिक दल र लोकतन्त्रले केही गरेन भनेर धारे हात लगाएर नबस्न पोखरेलले आग्रह गरे । एमाले सरकारमा जाँदा देशको समृद्धिको लागि काम गरेको उनले स्पष्ट पारे । केपी ओली प्रधानमन्त्री हुँदा नेपाल विश्वमा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको सूचीमा पुगेको उनले स्मरण गराए । एमालेलाई सरकाबाट हटाएर बनेको सरकाले सेटिङमा सुन तस्करी गरेर देशको अर्थतन्त्र नै तहसनहस बनाएको उनले बताए । देशमा अरूले गल्ती गर्ने तर आक्रमणको निशाना भने एमाले हुने गरेको उनको भनाइ छ ।

‘अरूले गल्ती गर्दछन्, प्रहार एमाले माथि हुने गर्दछ’, उनले भने । मुलुक लगातार संकटमा परेपछि एमाले र कांग्रेसले ७ बुँदे सहमति गरेर देशलाई अघि बढाएको उनले बताए । अहिले देशका हरेक क्षेत्र सुधारको गतिमा अघि बढेको पोखरेलले दाबी गरे । ‘आयात पनि बढेको छ, निर्यात पनि इतिहासकै उच्च विन्दुमा भएको छ, अलिकति जनतामा आशा जगाउने हो भने त हुने रहेछ नि’, उनले भने । अधिकार माग्न सिकाउने तर कर्तव्य नसिकाउने कुराले राष्ट्रलाई कमजोर बनाउने अभ्यास सुरु भएको उनले बताए । यसले देशमा सामाजिक अराजकता फैलिएको पोखरेलको धारणा छ । नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले त्यसलाई अझ बलियो बनाउने गरी सबै लाग्नु पर्ने उनले धारणा राखे ।

कुनै पनि कुराको गहिरो अध्ययन होइन सतही कुरा गरेर समाजमा भ्रम फिँजाउने काम भइरहेको उनले बताए । ‘समाजमा आफूलाई बौद्धिक ठान्नेहरू पनि तथ्यमा होइन भ्रममा बाँचिरहेका छन्’, उनले भने । जोसँग ज्ञान र प्रविधि छ अब त्यही धनी र बलियो हुने उनले बताए । त्यो मामलामा नेपाली युवालाई पर्याप्त ज्ञान दिन सक्ने हो भने नेपाल गरिब नहुने पोखरेलले स्पष्ट पारे ।

आप्रवासी नेपालीको नागरिकताको विषयमा उठेका कुराको जवाफ दिँदै पोखरेलले आप्रवासीको नागरिकलाई देशका अन्य कानुनले नचिनेकाले अहिलेको समस्या आएको बताए । त्यसैले ती समस्या समाधान गर्न एकै पटक सबै कानुन परिमार्जन गरिने उनले आश्वासन दिए ।

नेपाल आज समस्यामा भए पनि भविष्य उज्यालो भएको मुलुक भएको उनले स्पष्ट पारे । राष्ट्र विकासको सन्दर्भमा स्पष्ट दृष्टिकोण भएको नेता, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको उनले बताए । एमाले अहिले त्यही अभियानमा रहेको उनले प्रष्ट पारे । अहिले नेपाली समाजमा भ्रम सिर्जना गरेर अस्थिरता सिर्जना गर्ने विभिन्न शक्ति भएका बताउँदै पोखरेलले यसमा सचेत हुनुपर्ने बताए । लोकप्रियताको कुरा गर्नेले राजनीति र राष्ट्र निर्माण दुवै काम गर्न नसक्ने उनले प्रष्ट पारे । लोकप्रियतावाद कहिल्यै पनि समस्याको समाधान हुन नसक्ने पोखरेलले दाबी गरे ।

एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नबन्ने नहुने देखेका शक्तिहरू एमाले विरुद्ध गाली गर्न लागेका बताए । राष्ट्रलाई बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रिय विरोधी शक्ति एमालेविरुद्ध लागेका उनले बताए ।