
काठमाडौं, ३१ जेठ । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
फ्लाइओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाइओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए ।

यसैगरी, उनले अन्य निर्माणाधीन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको बताए । निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केही दिन भित्रमा नै सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।

यस्तै, सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाइओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरु बाँकी रहेको र २–३ दिन भित्रै बाँकी कामहरु पूरा भएपछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले जनाए ।
पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक–पटक निरीक्षण र अनुगमनपछि चाँडै काम सक्न निर्देशन दिएका थिए ।
फ्लाइओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया